Logo
१ मंसिर २०८१, शनिबार
(May 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमै आएर नेपालीलाई गिरफ्तार गर्न खोज्ने भारतीय सुरक्षाकर्मी पक्राउ

रौतहट : नेपाली नागरिकलाई नेपालमै आएर पक्राउ गरि भारत लैजान खोज्ने भारतीय सुरक्षाकर्मीसहितको एक समूहलाई रौतहटका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । पक्राउ पर्नेहरुमा भारतको बैरगनिया थाना प्रभारी सुजित कुमार, अक्षेवर खान, मिथलेश कुमार मिश्रा र महमद खान लगायत छन् ।

बाराको कलैया १७ निवासी महेश प्रसाद यादवलाई जबर्जस्ती गाडीमा राखेर लैजान खोज्दा नेपाली सुरक्षाकर्मीले गौर भन्सार बेरिएरबाट भारतीय टोलीलाई पक्राउ गरेका हुन् । काठमाडौंको टोखास्थित महेश प्रसाद यादवको एक गार्मेन्टमा काम गर्ने बिहार सितामढीको पचटकी निवासी ओहिद मन्सुरीका छोरा साबिन र उनको साथी मुमताज अहमदको पहलमा भारतीय सुरक्षाकर्मीको टोली यादवलाई लिन नेपाल आएको बताइएको छ ।

भारतीयको समूहले नेपाली नागरिक यादवलाई जबर्जस्ती गाडीमा हालेर फर्किन थालेपछि भन्सार सुरक्षा चेक प्वाइन्टमा तैनाथ नेपाली सुरक्षाकर्मीले गाडीसहित सबैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएका छन् ।रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले भारतीय सुरक्षाकर्मीसहितको टोली जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको अनलाइनखबरलाई बताए ।

स्रोतका अनुसार ओहिद मन्सुरीले एक कामको लागि भन्दै यादवसँग चार लाख रुपैयाँ लिएका थिए । तर उनी काममा आएनन् र सो रकम फिर्ता गर्न यादवले भन्दै आएका थिए । सोही रकम फिर्ता दिन भन्दै ओहिदको छोरा साबिन मन्सुरीले महेशलाई गौर बोलाएका थिए । गौर भन्सार नजिकैको एक होटलमा सँगै खाजा खाएपछि साबिनले फोन गरेर बैरगनिया थाना प्रभारीसहितको टोलीलाई गौर बोलाएका थिए ।

फोन गरेलगत्तै आएको भारतीय टोलीले यादवलाई विआर ३० पि ६७५८ नम्बरको गाडीमा जबरजस्ती राखेर भारततर्फ नै फर्किन लागेको थियो । शंका लागेपछि नेपाली सुरक्षाकर्मीले रोकेर सोधपुछ गरेका थिए । घटनाको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मनोज यादव नेतृत्वको टोलीले गाडीसहित भारतीय टोली र नेपाली नागरिकलाई जिल्ला प्रहरी कार्यालय गौरमा लगेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी रामकुमार दानीले भारतीय सुरक्षाकर्मीहरुसँग सोधपुछ तथा अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति: May 26, 2018

प्रतिक्रिया दिनुहोस्