लगानी अनुसार शिक्षामा प्रतिफल आएन : प्रधानमन्त्री ओली
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रबाट लगानीअनुसार प्रतिफल आउन नसकेको बताएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘पाचौँ कान्तिपुर हिसान शैक्षिक मेला’को बिहीबार उद्घाटन गर्दै उनले व्यवस्थापकीय कमजोरी र गुणस्तरीय शिक्षामा ध्यान दिन नसक्दा शिक्षा क्षेत्रमा धेरै लगानी भए पनि राम्रो प्रतिफल प्राप्त हुन नसकेको बताए ।
उनले मुलुकलाई चाहिने जनशक्ति उत्पादन हुने खालको र जीवनोपयोगी शिक्षा दिन सरकार कटिबद्ध रहेको बताए । उनले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउँदै गुणस्तरीय शिक्षाका लागि कोहीसँग पनि सरकारले सम्झौता नगर्ने दृढता व्यक्त गरे । ‘अहिले हामी देश विकास गर्न कस्ता जनशक्ति चाहिन्छ भनेर छलफल गरिरहेका छौँ’, उनले भने, ‘अब हामी मुलुकलाई चाहिने जनशक्ति मात्र उत्पादन गर्छौ । ती जनशक्तिले आमाबुबाका साथै मुलुकको सपना पूरा गर्नेछन् ।’
ओलीले सरकारी, सामुदायिक र निजी क्षेत्र मिलेर नेपालको शिक्षा क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । उनले अबको दुई वर्षभित्र विद्यालय नजाने बालबालिका मात्र निरक्षर रहने बताए । ‘निजी शैक्षिक संस्थाको शिक्षामा योगदान छ भन्दैमा उनीहरुले जथाभावी शुल्क लिन पाउँदैन’, उनले भने, ‘निजी शिक्षण संस्था नोक्सानमा जानुस् भनेर भनेको होइन । धेरै नाफा नखोज्नुस् भनेको हुँ ।’
ओलीले सरकार लोकप्रियता हासिल गर्न नभई लोकप्रिय काम गर्न बनेको दाबी गरे । कार्यक्रममा हिसानका अध्यक्ष रमेश सिलवालले सरकारसँग निजी क्षेत्र मिलेर काम गर्न तयार रहेको बताए । उनले विद्यार्थीलाई अध्ययनका लागि बाध्यतामाबाहेक विदेश जान नपर्ने वातावरण बनाउन आफूहरु लागिपरेको र स्वदेशमै गुणस्तरीय शिक्षा दिइरहेको जानकारी गराए ।