‘ज्यान भत्काउन र ऋण कमाउन विदेश गइएछ ‘
- नागरिक टाइम्स/ संवाददाता
१० जेष्ठ २०७५, बिहीबार ००:००
खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का रामप्रसाद आचार्य वैदेशिक रोजगारका लागि पहिलोपटक मलेसिया जानुभयो । सन् २००१ मा रु ८५ हजार मेनपावर कम्पनीलाई बुझाएर मलेसिया जानुभएका आचार्यको कमाइ करिब रु १० हजार मात्र हुन्थ्यो ।
विदेश जाँदा काढेको ऋण तिर्नै उहाँलाई हम्मेहम्मे पथ्र्यो । काम गर्ने सिलसिलामा दशौँ महिनामा घरको छतबाट लडेर उहाँको खुट्टा भाँच्चियो । दश महिनासम्म कमाएको पैसाले उपचार गर्न पनि पुगेन ।
सत्र महिना मलेसियामै आराम गरेर उहाँ स्वदेश फर्कनुभयो । मलेसिया जाँदाको ऋण तिर्न आचार्य रु एक लाख १५ हजार ऋण खोजेर कतार लाग्नुभयो । “कतारमा शुरुमा भनेजस्तो काम र दाम पटक्कै भएन, सात वर्षसम्म पसिना बगाएर रु तीन लाख जम्मा गरेर २०६५ सालमा घर फर्किए,” उहाँले पीडा सुनाउनुभयो ।
करीब सात वर्षसम्म घरमै थकान मेट्नुभएका आचार्य २०७१ सालमा फेरि मलेसिया हान्निनुभयो । मलेसिया पुग्नुभएको चार महिना पुग्दा नपुग्दै आचार्यको धन्नैले मात्र ज्यान बच्यो । “इलेक्ट्रिसियनको काम गर्थें, काम गर्दै गर्दा छतबाट भुइँमा खसेछु,” उहाँले भन्नुभयो, “एक दिनभरि होसै आएन, धन्न समयमै उपचार पाएर ज्यान बचेको छ ।”
आचार्यको ज्यान त बच्यो तर हातखुट्टा दुवै बेकामे भए । टाउकोमा समेत गहिरो चोट लागेका आचार्य त्यहीको अस्पतालमा १० महिनासम्म रहनुभयो । “घरबाट रु सात लाख मगाएर उपचार गरी फर्किएँ,” विगत सम्झँदै आचार्य भन्नुहुन्छ, “ज्यान भत्काउन र ऋण कमाउन विदेश गइएछ ।”
शारीरिक अपाङ्गता भएर घर फर्कनुभएका आचार्यले हाल, थोरै लगानीमा घरमै सानो पसल शुरु गर्नुभएको छ । दुई छोरा र श्रीमतीको साथमा रहनुभएका आचार्यले हप्तामा दुईपटक लाग्ने दिक्तेलबजारको हटियामा कपडा पसल राखेर व्यापार गर्दैआउनुभएको छ । (रासस)