विश्व क्रिकेट आईपीएलमा सन्दीपको शान सन्दीपले लिए विकेट
काठमाडौं: नेपालका सन्दीप लामिछानेले आईपीएलको डेब्यू खेलमा विकेट लिएका छन् । दिल्ली डियरडेभिल्समा आवद्ध उनले शनिबार रोयल च्योलेन्जर्स बैंग्लोरविरुद्ध डेब्यू गरेका थिए ।
तर उनको टिम बैंग्लोरसँग ५ विकेटले पराजित भएको छ र प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनायो । रिसव शर्मा पन्तले ६१ रन बनाउँदा अभिशेक शर्माले डेब्यू खेलमै अविजित ४६ रन बनाए ।
बैंग्लोर जवाफी ब्याटिङमा उत्रँदा दिल्लीका कप्तान श्रीयस ऐयसले सन्दीपलाई पहिलो ओभरमा नै बल थमाए । त्यो ओभरमा ६ रन दिएका सन्दीपले आफ्नो दोस्रो ओभरको चौथो बलमा पार्थिव पटेललाई ६ रनमा एलबीडब्लू धरापमा पारे ।
उनले ४ ओभरमा २५ रन दिए ।
बोल्ट र सन्दीपले क्रमशः दोस्रो र तेस्रो ओभरमा विकेट लिएपनि विराट कोहली र एबी डिभिलियर्सले ११८ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । कोहली ७० रनमा आउट भए डिभिलियर्स ७२ रनमा अविजित रहे ।
यो हारसँगै दिल्ली समूह चरणको २ खेल बाँकी छँदै बाहिरिएको छ भने बैंग्लोरको गणितीय सम्भावना कायमै छ ।