मोदीले जनकपुर, काठमाडौं र मुक्तिनाथमा बेग्लाबेग्लै ‘सरप्राईज प्याकेज’ घोषणा गर्ने
काठमाडौं :भारतीय प्रधानमन्त्री दुई दिने भ्रमणको लागी भोलि नेपाल आउँदैछन् । उनले जनकपुरबाट आफ्नो नेपाल भ्रमणको सुरुवात गर्दैछन् ।
मोदी प्रधानमन्त्री भएपछिको नेपाल भ्रमण यो तेस्रो हो । जनकपुरमा भारतीय प्रधानमन्त्रीले ६७ वर्षपछि भ्रमण हुँदैछन् । मोदीले जनकपुरको भ्रमण गर्न यसअघिका दुई वटा भ्रमणमा पनि चाहेका थिए । तर, समय अभावका कारण त्यो सम्भव भएको थिएन् । यसपटक भने उनले आफ्नो नेपाल भ्रमणको पहिलो यात्रा जनकपुरबाट नै तय गरेर ईच्छामात्रै पूरा गरेनन्, बरु मिथिलावासीहरुको पनि मन जितेका छन् ।
मोदीको जनकपुर भ्रमणको तयारी अन्तिम चरणमा पुगेको मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले जानकारी दिएका छन् । राउतका अनुसार प्रदेश सरकार र उपमहानगरपालिका भ्रमण तयारीसँगै सुरक्षा बन्दोबस्तीमा खटिएका छन् । भारतबाट सीधै जनकपुर आउने प्रधानमन्त्री मोदीलाई विमानस्थलमा नेपाल सरकारका बरिष्ठ मन्त्री समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री राउतले स्वागत गर्ने कार्यक्रम रहेको छ ।
जनकपुर भ्रमणको दौरान मोदी त्यहाँका तीन महत्वपूर्ण स्थानमा सहभागी हुने कार्यक्रम रहेको छ । तीनै स्थानमा स्वागतको तयारी र सुरक्षा बन्दोबस्ती मिलाइएको छ । मुख्यमन्त्री राउतका अनुसार जनकपुर विमानस्थलमा अवतरणपछि मोदी केहीबेर त्यहीँ विश्राम गर्नेछन् ।
भारतीय वायुसेनाका तीनवटा हेलिकप्टरमा मोदी र उनको टिम वैशाख २८ गते शुक्रबार बिहान १० बजेतिर जनकपुर अवतरण गर्ने कार्यतालिका छ । मोदीको कारगेड आउने विमानस्थलदेखि जानकी मन्दिर र रंगभूमि मैदानसम्मको सडक कालोपत्रे गरिनुका साथै सिँगारिएको छ । सडक दुवैतिरका पर्खालमा केसरिया रङ लगाइएको छ । त्यसमा कोरिएको मिथिला पेन्टिङले सौन्दर्य अझै बढाएको छ ।
जनकपुरको रंगभूमि मैदानमा गरिने नागरिक अभिनन्दन कार्यक्रममा मोदीले मिथिलाको विकासको लागि विशेष प्याकेजको घोषणा गर्नेगरि तयारी थालेको पनि भारतीय उच्च अधिकारीहरुले जानकारी दिएका छन् । स्रोतका अनुसार जनकपुर भ्रमणको दौरान रामायण सर्किट र बुद्धिष्ट सर्किट बनाउने घोषणा मोदीले गर्ने छन् ।
त्यस्तै कृषिमा आधुनिकीकरणको लागि सहायता घोषणा गर्नसक्ने अनुमान गरिएको छ । त्यस्तै नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा भएको रेलमार्ग, जलमार्गको सहमति अनुसार भारतीय प्रधानमन्त्री मोदीको दुई दिने नेपाल भ्रमणमा ईनल्याण्ड वाटर नेभिगेशनबारे समझदारी हुनसक्नेछ । यसको लागि दुवै पक्षले अहिले काम गरिरहेका छन् ।
दुवै प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार साँझ हुने उच्चस्तरीय डेलिगेशन भेटवार्ता पछि जारी गरिने जोईन्ट कम्युनिक्यूमा यो विषयपनि समेटिने भएको छ । भारतको ईनल्याण्ड वाटर नेभिगेशन अथरिटीले संभाव्यता अध्धयन गर्दा कोशीदेखि भारतको कालुघाटसम्म जलमार्ग चलाउनेबारे रिपोर्ट तयार पारेको छ ।
२ नम्बर प्रदेशमा सार्वजनिक विदा
मोदी जनकपुर आउने दिन वैशाख २८ गते प्रदेश नं। २ मा सार्वजनिक बिदा दिने निर्णय प्रदेश सरकराले यसअघि नै गरिसकेको छ । मोदीलाई भव्य स्वागत गरिने केन्द्र सरकार र प्रदेश सरकार दुवैले दाबी गर्दै आएका छन् । रंगभूमि मैदानमा सम्बोधन गर्ने भारतीय प्रधानमन्त्री मोदीको कार्यक्रममा सरकारले प्रदेशभित्रका आठवटै जिल्लाबाट ५० हजार मानिस सहभागी गराउने निर्णय गरेको थियो । तर, लाखौं जनताको स्वतस्फूर्तः उपस्थिति हुने राजपा नेपालका महामन्त्री मनिष सुमनले रिपोर्टर्स क्लब नेपालको कार्यक्रममा बताएका थिए ।
काठमाडौं महानगरपालिकालाई पनि सरप्राईज गिफ्ट दिने
मोदीले काठमाडौंमा उनको सम्मानमा महानगरपालिकाले गर्ने नागरिक अभिनन्दनमा पनि यसको विकासको लागि विशेष सहयोगको प्याकेज घोषणा गर्ने तयारी गरेका छन् ।
मुक्तिनाथ मन्दिरको स्तरोन्नती र विकासको लागि प्याकेज घोषणा
मोदीको नेपाल भ्रमणमा उनी मुक्तिनाथ मन्दिर जाने कार्यक्रम रहेको छ । अहिले मन्दिर बेहुलीजस्तै सिंगारिएको छ । जोमसोमदेखि मुक्तिनाथ मन्दिरको प्रवेशद्धारसम्म सरसफाईसहित विभिन्न पूर्वाधार विस्तार गरिएको छ । मन्दिर आसपासका क्षेत्रमा नेपालीसहित भारतीय सुरक्षाकर्मीको समेतको बाक्लो उपस्थिति छ ।
भारतीय प्रधानमन्त्रीको भ्रमणलाई भब्य र सभ्य बनाउन सरकारी निकाय र स्थानीयबासी उत्तिकै सक्रियता देखिन्छन् । भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको चर्चा चलिरहेको बेला मुक्तिनाथलाई भारतीय तीर्थालुले नेपालमा दर्शन नगरी अपुरो हुने विश्वासका साथ प्रसिद्ध मुक्तिनाथ मन्दिरमा आउने गरेका छन् ।
नेपालका चार धाममध्ये एक मुक्तिनाथ मन्दिरमा वर्षे्नि भारतका विभिन्न प्रदेशबाट ठूलो संख्यामा दर्शनका लागि आउने गरेको तथ्याङ्कले देखाउँछ ।
नेपालबाहेक सार्क राष्ट्रमा सबैभन्दा धेरै धार्मिक पर्यटक भारतबाट भित्रिने भएकोले पनि मोदीको प्राथमिकतमा मुक्तिनाथ परेको हो । मोदीले यसअघिपनि यो मन्दिरको भ्रमण गर्ने ईच्छा व्यक्त गरेका थिए । विशेष कारणबस उनको यो ईच्छा अपुरो रहँदै आएको थियो ।
मुक्तिनाथ मन्दिरलाई विश्वस्तरमै चिनाउनको लागि मोदीले त्यहाँ पनि सम्बोधन गर्ने र प्याकेजमै मन्दिर विकासबारे सहयोग राशि घोषणा गर्न सक्ने अनुमान गरिएको छ ।