Logo
१२ मंसिर २०८१, बुधबार
(May 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भीषण वर्षाका कारण गए राति देखि जलेश्वर–जनकपुर बाटो अवरुद्ध

गौशाला :गौशाला भीषण वर्षाका कारण महोत्तरी जिल्लाको मुख्य जलेश्वर–जनकपुर सडकखण्ड बुधबार बिहानैदेखि अवरुद्ध भएको छ ।

जिल्लाकै प्रमुख सडकखण्डका रुपमा रहेको जलेश्वर–जनकपुर सडकको फोर लेन सडक निर्माण सहितको स्तरोन्नतिको काम भइरहेका बेला गए राति २ बजे देखि बुधबार बिहान साढे ६ बजेसम्म भीषण पानी परेका कारण सो बाटो अवरुद्ध भएको हो । जनकपुरदेखि जलेश्वर र भिट्ठामोडसम्म पूरै बाटोभरि नै माटैमाटो रहेको बेला पानी परेपछि सवारी साधान फस्ने डरले बुधबार बिहानैदेखि बाटो अवरुद्ध भएको हो । बाटोभरि पानीले गर्दा हिलैहिलो भएकाले कुनै पनि बस, जीपका साथै मोटरसाइकलसमेत चलेको छैन ।महोत्तरी जिल्लामा गएराति भीषण पानी पर्दा लाखौँको क्षति भएको छ । तेज हावा, हुरीसँगै आएको असिना पानीले जिल्लाका दर्जनौँ घर, विद्यालयको छाना उडाएको, रूखबिरुवा र बिजुलीका पोलहरुसमेत ढलेको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा आएको हुरी, बतास र असिना पानीले जिल्लाको सयौँ बिघा जग्गामा लगाएको तरकारी बाली र अन्य खेतीपातीमा पनि लाखौँको क्षति पुगेको प्रहरीले जनाएको छ । साथै वर्षाकै कारण गए राति २ बजेदेखि नै जिल्लाका सम्पूर्ण गाउँठाउँको बिजुलीसमेत अवरुद्ध भए पनि कुनै पनि मानवीय क्षति भने नभएको प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिए ।

प्रकाशित मिति: May 9, 2018

प्रतिक्रिया दिनुहोस्