सिन्डिकेट अन्त्य गर्न यातायात मन्त्रालय र व्यवसायीबीच पाँचबुँदे सहमति
काठमाडौँ, २४ वैशाख ः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवसायी महासंघबीच यातायात एकाधिकार अन्त्य गर्ने विषयमा पाँचबुँदे सहमति भएको छ ।
मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यातायात क्षेत्रका जुनसुकै प्रकारको एकाधिकार (सिन्डिकेट) को स्वरुप खारेजी गर्ने सहमति भएको जानकारी गराइयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको उपस्थितिमा आइतबार बेलुकी मन्त्रालयमा भएको वार्ताले सहमति जुटाएको हो ।
प्रचलित कानूनअनुसार एउटा मात्र सार्वजनिक सवारी भएका धनीले पनि यातायात सञ्चालन गर्न पाउने र सर्वोच्च अदालतले परमादेश जारी गरेअनुसार यातायात क्षेत्रलाई व्यवस्थित बनाउन जाँचबुझ आयोग गठनको प्रक्रिया छिटो अघि बढाउने सहमति भएको छ ।
यातायात व्यवसायीको संयुक्त आन्दोलन मूल समितिले घोषणा गरेका सम्पूर्ण कार्यक्रम फिर्ता लिन दुवै पक्ष सहमत भएका छन् । यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन ३० दिनभित्र प्रतिवेदन दिने गरी कार्यदल गठन गर्ने सहमतिसमेत भएको छ ।
कार्यक्रममा मन्त्री महासेठले लामो समयदेखिको यातायात एकाधिकार अन्त्य गर्न यातायात व्यवसायीले नै सहयोग गरेको बताउनुभयो । महासंघका बहुसंख्यक सदस्य नै एकाधिकारका विरुद्धमा लागेको उहाँको भनाइ थियो ।