संघीय संसद्को बजेट अधिवेशन आजदेखि, चार अध्यादेश पेश हुने
काठमाडौं :संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ। संसद् भवन नयाँ बानेश्वरमा अपरान्ह ४ बजे प्रतिनिधिभा र राष्ट्रिय सभाको बैठक संयुक्त रुपमा बस्ने छ।
संविधानअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी हुन्।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको आज बस्ने बैठकमा सरकारले राष्ट्रपतिद्वारा जारी ४ अध्यादेश र नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्ने सम्भावना रहेको छ।
आजको वैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश, राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी अध्यादेश पेस हुने संभावना छ।
संघीय संसद्को पहिलो बैठक गएको फागुन २१ गतेदेखि एक महिना चलेर चैत २० गतेबाट अन्त्य भएको थियो। पहिलो बैठकमा प्रतिनिधिसभाका ११ र राष्ट्रिय सभाका १० वटा बैठक बसेका थिए।