नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्न नदिन कामलाई तीव्रता दिइँदै
चितवन : छिट्टै वर्षात् शुरु भएपछि नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्न नदिनका लागि काम तीव्र रुपमा अघि बढाइएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका डिभिजनल इन्जिनियर गोविन्द खनालका अनुसार पहिलो चरणमा लुज मेटेरियल (झर्न लागेका ढुङ्गा, ढिस्को र माटो) झार्ने काम भइरहेको छ ।
अहिले दिनको समयमा सडक बन्द हुने भएकाले लुज मेटेरियल झार्ने कामलाई तीव्रता दिइएको छ । यससँगै दुई वटा ढुंगा जोड्ने रक बोल्टिङ, चट्टान झर्न नदिन संरचना निर्माण गर्ने, सिमेन्ट जोडले फालेर जमाउने सटसिट, ग्याभिन जाली लगाएर पहिरो रोक्ने रक मेटिङ, ढिस्को मिलाउने स्लोप ट्रिमिङ, भित्तोमा कुलो बनाएर पानी तर्काउने फ्रेन्स ड्रेन, बायो इञ्जिनियरिङलगायतका काम हुँदै छन् ।
खनालका अनुसार सडकलाई दुई भागमा विभाजन गरी पहिरो रोक्ने कामका लागि रु १४ करोडमा ठेक्का दिइएको छ ।
खनालका अनुसार सो सडकका १८ ठाउँमा पहिरोको उच्च जोखिम रहेको छ । तीमध्ये अति नै संवेदनशील रहेका छ ठाउँमा शुरुमा काम गरिने छ ।
पानी परेपछि काम गर्न नमिल्ने भएकाले वर्षात्अघि नै काम सक्ने गरी काम थालिएको हो ।सडकको कूल लम्बाइ ३३.२ किलोमिटरमध्ये ३०.३ किलोमिटर पहिलो तह कालोपत्रे भइसकेको छ । लागत मूल्य बढेपछिको मूल्याङ्कनमा सडकको ८० प्रतिशत काम सम्पन्न भएको छ । सडक बने पनि पहिरो खसेमा वर्षात्मा यात्रुले दुःख पाउन सक्ने भएकाले पहिरो रोक्ने कामलाई उच्च प्राथमिकता दिइएको आयोजनाले जनाएको छ ।