विप्लवलाई गृहमन्त्री बादलको चेतावनी : ‘आतंक बन्द गर, नतत्र निर्मम बन्छु’
काठमाडौँ, १३ बैशाख : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले जनसत्ता व्युँत्याउने नाममा गरिने आतंकलाई गृहमन्त्रालयले निर्मम बनेर नियन्त्रण गर्ने चेतावनी दिएका छन् । अज्ञात समूहको आक्रमणबाट गम्भीर घाइते मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको अवस्था बुझ्न नेपाल-कोरिया मैत्री अस्पतालमा पुगेका गृहमन्त्री बादलले यस्तो चेतावनी दिएका हुन् ।
थापाले घुमाउरो भाषामा विप्लप समूहलाई आतंकारी गरी गतिविधि नगर्न समेत चेतावनी दिएका छन् । उनले स्थायी सरकार गठन भएको स्मरण गराउँदै केही तत्वहरु अहिले कम्युनिष्ट एकता भाँड्न लागेको बताए । ‘अब जनसत्ता व्युँताउने नाममा गरिने आतंकलाई गृहमन्त्रालयले निर्मम ढंगले नियन्त्रण गर्छ,’ उनले भने,’कुनै पनि आतंकको नियन्त्रण गर्न सरकार प्रतिवद्ध छ ।’
थापाले कम्युनिस्ट एकता भाँड्न विभिन्न कोणबाट आतंक फैल्याउने काम भइरहेको भन्दै मेयरमाथिको आक्रमण पनि त्यसैको एक कारण भएको बताए । मेयर श्रेष्ठलाई भेटेपछि संक्षिप्त कुराकानी गर्दै उनले नेकपा एमाले र माओवादीबीचको एकता प्रक्रिया सबै टुंगिएको प्रष्ट पारे ।
अब एकताको मिति घोषणा हुन मात्र बाँकी रहेको थापाले बताए । ‘हामी वैशाख ९ मै पार्टी एकता गर्न चाहन्थ्यौँ,’ उनले भने, ‘केही सामान्य कारणले त्यो हुन सकेन, अब छिट्टै दुई पार्टी एक हुन्छन् । यो हाम्रो मात्र होइन जनताको पनि माग हो ।’