ओली र दाहालबीच दुई घण्टा वार्ता : ‘आज पनि कुरा मिलेन’
काठमाडौँ, ८ वैशाख : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकीकरणलाई निष्कर्षमा पुर्याउने विषयमा दुवै पार्टीका अध्यक्षबीच शनिबार पनि वार्ता भएको छ ।
प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा दुई घण्टासम्म चलेको एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच गम्भीर छलफल भएको हो ।
पार्टी एकीकरणका विषयमा भएको दुवै अध्यक्षबीच सकारात्मक छलफल भएको माओवादी केन्द्रका अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
उनका अनुसार पार्टी एकताको विषय सकारात्मक रुपमा अगाडि बढेको छ । पार्टी एकीकरणका विषयलाई अन्तिम रुप दिन दुवै अध्यक्ष गम्भीरतापूर्वक लागेको बताइएको छ । रासस