Logo
३० कार्तिक २०८१, शुक्रबार
(April 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाबु नभएका पाँच वर्षीय राज थारुको अभिभावक बने अभिनेता हमाल

कपिलवस्तु, ८ वैशाख : अभिनेता राजेश हमालले एक बालकलाई शुक्रबार विद्यालय भर्ना गराएका छन् । हमालले बुद्धभूमि नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको समन्वयमा अभिभावक बनी बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेस्थित गौतमबुद्ध माविमा पाँच वर्षीय राज थारुलाई कक्षा १ मा भर्ना गर्दै अभिभावक बनेका हुन् ।

‘मेरो पहिल्यैदेखि चाहना थियो । यस पटक नेपाल सरकारको नीतिले आफूलाई ठूलो अवसर जुटायो’, हमालले भन्नुभयो, ‘राजप्रति मेरो धेरै चासो हुनेछ, म उसलाई पटक पटक विशेष महत्वका साथ हेरविचार गर्नेछु, म उसलाई असल अभिभावकत्व प्रदान गर्नेछु ।’

विद्यालयको भर्ना कापीमा अभिभावकका रुपमा हस्ताक्षर गर्दै हमालले राजलाई झोला, पाठ्यपुस्तक र पाठ्य सामग्री प्रदान गरे । बालकको लालनपोषणका लागि केही रकमसमेत हमालबाट पाएको राजकी आमा लक्ष्मीले बताइन् ।कार्यक्रममा बुद्धभूमि नगरपालिका प्रमुख केशवकुमार श्रेष्ठ र उपप्रमुख मीरा चौधरी, समन्वय एकाइ प्रमुख सुरेन्द्र  पराजुली, गौतमबुद्ध माविका प्रअ रामप्रसाद अर्याल, स्रोत व्यक्ति खेमराज पौडेललगायतले हमालको कामले सबैमा उत्सुकता आएको बताए । राज बुद्धभूमि–२ पुरेनाको सामान्य परिवारमा जन्मिएका बालक हुन् ।

बुबा काशीराम र आमा लक्ष्मीका उनी कान्छो सन्तान हुन् । उनका बुबाको गत वर्ष कात्तिक १९ गते भारतमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । मृत्यु भएको एक वर्ष पुगे पनि राजको परिवारले हालसम्म राहत रकम पाएको छैन । पतिको मृत्युपछि लक्ष्मीले श्रम गरेर परिवार पाल्दै आइरहेकी छिन्। उनी नदीजन्य पदार्थ गाडीमा लाद्ने काम गर्छिन् । हमालले अभिभावकत्व ग्रहण गरेपछि आफ्नो बालकको भविष्य उज्वल हुने आशा उनमा पलाएको छ । रासस

 

प्रकाशित मिति: Apr 21, 2018

प्रतिक्रिया दिनुहोस्