प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनका ५ जना सहयोगीहरु पक्राउ
रुपन्देही, ५ बैशाख : प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनका ५ जना सहयोगीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । उनीहरुले मनोजलाई जिल्लाका उद्योगी व्यवसायीहरुको सम्पूर्ण विवरणहरु उपलब्ध गराउने गरेको रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवालीले बताए ।
पक्राउ पर्नेमा रुपन्देहीको बुटबल उपमहानगरपालिका–७, शिवनगरका उत्तम आचार्य, देवदह–५ का तुल्सी न्यौपाने, देवदह–४ का लेखनाथ न्यौपाने, स्याङ्जाको पुतलीबजार–४ घर भइ रुपन्देहीको बुटवल–४ बस्दै आएका हरिप्रसाद श्रेष्ठ र देवदह–६ का रोशन खड्का छन् ।
उनका अनुसार उनीहरुले पुनलाई अपराधिक कार्य गर्न प्रोत्साहन गर्ने र आर्थिक सहयोग समेत गर्ने गरेका थिए । उनीहरुमाथि संगठित अपराध ऐन अन्तरगत मुद्दा चलाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।