Logo
२ माघ २०८१, बुधबार
(April 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बङ्गलादेशको ढाकाबाट काठमाडौंसम्म सीधा बस सेवा : ९ सय ६० किलोमिटर दूरी

काठमाडौं : बङ्गलादेशको ढाकाबाट काठमाडौंसम्म सीधा बस सेवा सञ्चालन हुने भएको छ । सन् २०१५ को जुन १५ मा बङ्गलादेश, भारत र नेपालबीच भूटानको थिम्पुमा भएको यातायात मन्त्रीस्तरीय सम्झौताअनुसार सो बस सेवा सञ्चालनमा आउन लागेको हो ।

ढाकाबाट परीक्षणस्वरूप पहिलो बस अप्रिल २३ अर्थात् वैशाख १० गते काठमाडौंका लागि प्रस्थान गर्नेछ । सो गाडी भोलिपल्ट भारत प्रवेश गर्नेछ । भारतबाट सोही दिन गुडाएर वैशाख १३ गते (विहीबार) काठमाडौं ल्याइने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जानकारी दिएको अभियानमा लेखिएको छ ।

बङ्गलादेश, भुटान, भारत र नेपालबीचको यातायात सम्झौताअनुसार यात्रुवाहक नियमित गाडी सञ्चालन भएपछि भने ढाका–काठमाडौंको बसयात्रा घटीमा ३० घण्टाको हुनेछ । पहिलो चरणमा परीक्षणको रूपमा दुईओटा गाडी सञ्चालनमा ल्याउने तयारी गरिएको मन्त्रालयको यातायात शाखाका सिनियर डिभिजन इञ्जिनीयर गोविन्द खरेलले जानकारी दिए ।

बङ्गलादेश, भुटान, भारत र नेपालबीचको यातायात सम्झौतालाई भुटानबाहेक तीनओटै देशले पारित गरिसकेको छ । परीक्षण गरिएका गाडी काठमाडौं आइसकेपछि यात्रुवाहक नियमित गाडी सञ्चालनका लागि काठमाडौंमा हस्ताक्षर गर्ने तयारी दुवै देशले गरिसकेका छन् ।

बङ्गलादेशका सडक तथा पुल मन्त्रालयका सहसचिव इशान इलाहीका अनुसार वैशाख १० गते ढाकाबाट गुडेको गाडी बङ्गलादेशको रङ्गपुरमा वास बस्ने र भोलिपल्ट सो गाडी फूलबारी सीमा पार गरेर ११ गते सिलिगुडी आइपुग्नेछ । सो गाडी सिलिगुडीबाट वैशाख १२ गते मात्र नेपालतर्फ गुड्ने र बिहान ८ बजे काँकडभिट्टाको पानी ट्याँकी सीमा पार गरेर भोलिपल्ट काठमाडौं आइपुग्नेछ । यो गाडीमा २३ जना बङ्गाली, ११ जना नेपाली र ८ जना भारतीय यात्रु तथा सरकारी प्रतिनिधि र एशियाली विकास बैङ्कका प्रतिनिधिसमेत पनि रहनेछन् ।

परीक्षणको रूपमा चलाउन लागिएको बस गाडी भारत पस्नेबित्तिकै स्वागत तथा आतिथ्य प्रदान गर्ने तयारी भारतको पश्चिम बङ्गाल राज्यले गरेको छ । पश्चिम बङ्गालका पर्यटनमन्त्री गौतम देवका अनुसार त्रिदेशीय यातायात मार्गका कारण तीनओटै राज्यको विकासमा यसबाट थप टेवा मिल्नेछ ।

ढाका र काठमाडौंबीच सीधा बस सेवा सञ्चालनमा आएपछि दार्जिलिङ र पश्चिम बङ्गालमा पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ । यो बससेवा सञ्चालनबाट पश्चिम बङ्गाल राज्यलाई बढी फाइदा हुने विश्वास त्यहाँका व्यवसायीले गरेका छन् । यो सेवाबाट उनीहरू थप उत्साहित समेत भएका छन् ।

ढाकाबाट काठमाडौंसम्मको दूरी ९ सय ६० किलोमिटर छ । यो गाडीले रङ्गपुर–बङ्गलाबन्ध–फूलबारी–सिलिगुढी–पानीट्याङ्की–काँकडभिट्टा रूट प्रयोग गर्नेछ । यसअघि यात्रुहरू आफ्नै तवरले यात्रा गर्दा लालमोनिरात–बुरीकारी–च्याङ्ग्राबन्ध–सिलिगुडी र पानीट्याङ्की हुँदै नेपाल प्रवेश गर्थे । नयाँ रूट प्रयोगमा आएपछि १ सय किलोमिटर दूरी घट्नेछ ।

प्रकाशित मिति: Apr 17, 2018

प्रतिक्रिया दिनुहोस्