Logo
११ मंसिर २०८१, मंगलबार
(April 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नौ सय ११ भूमिहीन घरपरिवारलाई लालपूर्जा वितरण

नवलपरासी : पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा गाउँ ब्लक जग्गाको जग्गा धनी पूर्जा वितरण गरिएको छ । वषैंदेखि जोतभोग गर्दैआएका भूमिहीनलाई नापी कार्यालय पश्चिम नवलपरासीले गाउँ ब्लक जग्गाको जग्गा धनी पूर्जा वितरण गरेको हो ।

नापी कार्यालयले गाउँपालिकाको करिब ६० गाउँ ब्लकमा जोतभोग गरिरहेका नौ सय ११ घरपरिवारलाई जग्गा धनीको जग्गा नाप नक्सा गरी जग्गा धनी पूर्जा वितरण गरेको हो । घरघडेरी र खेतको रुपमा जोतभोग गरिरहेका नौ सय ११ घरपरिवारलाई गाउँ ब्लक अन्तर्गतको २९२ हेक्टर क्षेत्रफलको जग्गाको लालपूर्जा वितरण गरिएको नापी कार्यालयका प्रमुख सुग्रिम यादवले बताए ।

हरेक पूर्जा पाउने जग्गाधीले जोतभोगको आधारमा कम्तीमा आठ धुर भन्दा बढी दुई कठ्ठासम्म जग्गाको पूर्जा पाएका छन् । यसै गाउँपालिकामा २५ प्रतिशत जग्गाधनीहरुले विभिन्न जग्गा विवाद र निवेदन नदिएकाले पूर्जा पाउनबाट वन्चित भएका छन् । विस २०६८ मा जिल्लाको साविक हकुई, सुक्रौली, अमरौड, रामनगर, सुनवल, माकर, जहदा, नर्सही, गुठीपर्सौनी, त्रिवेणी लगायतका गाविसमा लालपूर्जा वितरण भइसकेको छ ।

नाप नक्शा भइसकेको स्थानीय तहमा यसै महिनाभित्र पूर्जा वितरण गरिने छ, भने अरु बाँकी स्थानीय तहमा असार महिनाभित्रै पूर्र्जा वितरण गरिसक्ने नापी कार्यालयले जनाएको छ ।

जग्गाधनीले लालपूर्जा पाएपछि निकै खुशी भएका छन् । पूर्जा नहुँदा उनीहरुले व्यक्तिगत काम, बैंकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्न समेतका कार्यबाट वञ्चित थिए ।

प्रकाशित मिति: Apr 12, 2018

प्रतिक्रिया दिनुहोस्