प्रचण्डको अस्वस्थताको कारण देखाउँदै एमाले-माओवादीको एकता बैठक स्थगित
काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गठित पार्टी एकता संयोजन समितिको बुधबार साँझ बस्ने भनिएको बैठक स्थगित भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्यमा समस्या देखिएको सूचना प्राप्त भएपछि बैठक स्थगित गर्नु परेको जानकारी गराइएको छ ।
भारत भ्रमण लगत्तै बैठक बसेर टुङ्गो लगाउने बताइएतापनि आजसम्म बैठक बस्न सकेको छैन । आगामी वैशाख ९ गते पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारीमा रहेका २ दलहरुबीच बाँकी रहेको कुरामा सहमती जुटाउन भन्दै आज बैठक डाकिएको थियो । खास गरि दुई पार्टीबीच संगठनात्मक प्रतिनिधित्व, चुनाव चिह्न र जनयुद्ध शब्दका विषयमा सहमति जुट्न बाँकी छ ।