स्वास्थ्य र जोखिम व्यवस्थापन कार्यमा ध्यान दिनुपर्छ : मन्त्री थापा
विराटनगर : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थपमाया थापाले स्वास्थ्य र जोखिम व्यवस्थापन कार्यमा रेडक्रसले ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटीको ४७ औँ महाधिवेशनको बुधबार उद्घाटन गर्दै उनले विशेषगरी समाजमा पिछडिएका महिलाको सशक्तिकरण र आर्थिक विकासका लागि नेपाल रेडक्रसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।
मन्त्री थापाले आफ्नो विधान संशोधन गर्दा नेपाल रेडक्रसले आफूलाई महिला मैत्री बनाउनुपर्ने बताउँदै महिला माथि हुने हिंसा, छाउपडी, बालविवाह, बोक्सी र दहेज प्रथा अन्त्य गर्न कार्यमा यो संस्थाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ भने, । महिला हिंसामा संलग्न हुनेलाई सदस्यता नदिन नेपाल रेडक्रसलाई उनले आग्रह पनि गरेका छन् । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले रगतको कमीले ग्रामीण क्षेत्रमा हुने अकाल मृत्युलाई रोक्न रेडक्रसले त्यस क्षेत्रमा रक्तसञ्चार केन्द्र सञ्चालन गर्नुपर्ने बताए।
राष्ट्रिय समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बरालले २१ औँ शताब्दी सुहाउँदो कार्य रेडक्रसले गर्नुपर्ने बताए ।सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महामन्त्री देवरत्न ध्वाख्वा, मोरङ सभापति सुबोधकुमार सिंह, उपसभापति रमानन्द यादव लगायतले समाज सेवाका क्षेत्रमा नेपाल रेडक्रसले पु¥याएको योगदानको विविध पक्षमाथि प्रकाश पारेका छन् ।
दुई दिन उक्त महाधिवेशनमा मुलुकभरिबाट २७५ जना रेडक्रसकर्मीलगायत विभिन्न मन्त्रालय, समाज कल्याण परिषद्, रेडक्रस अन्तर्राष्ट्रिय समिति र अन्तर्राष्ट्रिय महासंघका प्रतिनिधि गरी ३०० जनाभन्दा बढीको सहभागिता छ ।