Logo
३० कार्तिक २०८१, शुक्रबार
(April 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माथिल्लो तामाकोशी जलविद्यूत निर्धारित समयमा नै सम्पन्न हुनेछ : प्रधानमन्त्री ओली

दोलखा : प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्यूत आयोजना निर्धारित समयमा नै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आयोजना निर्माण गर्न सरकारका कुनै निकायले ढिलासुस्ती एवं हेलचेक्राइँ गरे आफूलाई सिधै जानकारी गराउन समेत प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् ।

कुनै पनि ठाँउमा ढिला सुस्ती काम हुन नदिने ओली सरकारको निति रहेको बताउँदै उनले निर्धारित समयभन्दा एक दिन पनि ढिला नगरी आयोजना सम्पन्न हुनुपर्नेमा जोड दिए । आयोजना निर्माणको एक दिन ढिला हुँदा ४ करोडको घाटा हुने प्रधानमन्त्री ओलीले बताए । बुधबार दोलखाको लामाबगरस्थित आयोजनाको निरीक्षण गर्न आइपुगेका ओलीले भने,‘राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारको कुनै निकायले ढिलासुस्ती गर्न पाउँदैनन् ।

ढिलासुस्ती गरे तत्कालन कारबाही गर्छु ।’ तोकिएकै समयमा आयोजना निर्माणका लागि कुनै विलम्ब हुन नदिने उनले बताएका छन् । आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले राष्ट्र बैंकले डलर सटहीमा ढिलासुस्ती, लामोसाँघु-जिरी सडकको स्तरोन्नतीका क्रममा सडकको अवस्था बिग्रिएकाले निर्धारित सयममा नै आयोजना सम्पन्न नहुने बताए ।

उर्जामन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजनाहरु मध्ये सबैभन्दा पहिला तामाकोशी जलविद्यूत आयोजना सञ्चालनमा आउने विश्वास व्यक्त गरे । २०६७ सालदेखि निर्माण सुरु भएको यो आयोजनामा भुकम्प, भारतीय नाकाबन्दी,विष्फोटक पदार्थको अपूर्तिमा ढिलासुस्ती र नक्सा डिजाईनमा भएको त्रुटिका कारण निर्धारित समयभन्दा ढिलो सम्पन्न हुने आयोजनाका कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ ।

आयोजनाको ९४ दशमलव ०४ प्रतिशत कार्य सम्पन्न भइसक्दा ३७ अर्ब ७१ करोड रुपैयाँ खर्च भइसकेको छ । चिनियाँ कम्पनी सिनो हाइड्रोले निर्माण ठेक्का पाएको यो आयोजना सन् २०१९को मे भित्र सम्पन्न गर्नुपर्ने छ । आयोजनाको निर्माण अवस्था बुझ्न प्रधानमन्त्री,उर्जामन्त्री सहित चिनियाँ राजदूतको टोली दोलखा आएको छ । लामाबगरमा निर्माण गरिएको बाँध निरीक्षण गरेर प्रधानमन्त्री ओली आजै राजधानी फर्कनेछन् ।

प्रकाशित मिति: Apr 11, 2018

प्रतिक्रिया दिनुहोस्