Logo
२ माघ २०८१, बुधबार
(April 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदी-ओलीलाई स्वीकार्य हुनेगरी नयाँ सम्बन्धबारे ‘ईपीजी’ प्रतिवेदन अन्तिम चरणमा

काठमाडौँ : नेपाल र भारतबीचका सबैखाले सन्धि र सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को टोलीले प्रतिवेदनको मस्यौदा प्रतिवेदन तयारी अन्तिम चरणमा पुगेको छ । दुवै मुलुकका प्रधानमन्त्रीले ईपीजीले दिने प्रतिवेदन स्वीकार गर्ने बताएपछि टोलीले मस्यौदालाई अन्तिम रूप दिन लागेको हो । नेपाली टोली आठौं बैठकका लागि उत्साहसाथ बुधबार दिल्ली प्रस्थान गर्दै छ ।

नयाँदिल्लीमा बिहीबार र शुक्रबार बस्ने बैठकले सुझाव मस्यौदा निचोडमा पुर्‍याउने गरी सबै तयारी पूरा गरेको ईपीजीका अर्का एक सदस्यले जानकारी दिए । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा उनी र भारतीय समकक्षी नरेन्द्र मोदीले मस्यौदा स्वीकार गर्ने बताएपछि दुवैतर्फका टोली उत्साहित भएका हुन् । दिल्लीमा भेटिएका भारतीय पक्षका संयोजक भगतसिंह कोसियारीले पनि ईपीजीको निष्कर्ष छिट्टै आउने बताए । मस्यौदा बाहिर ल्याउने गरी आठौं बैठक बस्न लागेको उनले जानकारी दिए ।

सातौं बैठकसम्म भएका दुईपक्षीय समझदारीलाई अन्तिम रूप दिन र प्रतिवेदनका मोडलसमेत फाइनल गरेर आठौं बैठक बस्न लागेको हो । यद्यपि यो नै अन्तिम बैठक भने नहुने एक सदस्यले अनुमान गरे । प्रधानमन्त्रीको भ्रमणका क्रममा पनि सीमालगायत मुद्दाहरू ईपीजीमा छलफलकै क्रममा रहेको भन्दै दुईपक्षीय वार्ता त्यसमा प्रवेश नै गरेन । ईपीजी बैठकले नै ती मुद्दालाई अन्तिम रूप दिने गरी प्रक्रिया अघि बढेको हो ।

नेपाली टोली संयोजक डा. भेखबहादुर थापाले आफूहरू आठौं बैठकका लागि बुधबार त्यसतर्फ जाने बताउँदै भने, ‘यो बैठक निकै महत्त्वपूर्ण छ । यसमा हामीले सबै विषयलाई अन्तिम रूप दिने प्रयास गर्नेछौं ।’ दुई वर्षअघि ओली सरकारकै पालामा ईपीजी समूह बनेको हो । समूहले लगातार साढे २१ महिना काम गरिसकेको छ । अब दुई महिनामा यसको म्याद सकिनेछ । दिल्ली बैठकमा सबै विषयलाई अन्तिम रूप दिएर एउटा अर्काे बैठक काठमाडौंमा गर्दै प्रतिवेदन बुझाउने तयारी रहेको एक सदस्यले जानकारी दिए ।

‘बैठकबाहेकको समयमा पनि आपसी सम्पर्क र छलफल गरिरहेका हुन्थ्यौं । आन्तरिक तयारी पनि सँगसँगै गथ्र्याैं । यसैले प्रतिवेदनमा खासै समस्या छैन,’ नेपाली टोलीका सचिव यादव खनालले भने, ‘दुवै पक्षबाट धेरै काम भइसकेको र केही विषयमा अघि बढ्नेबित्तिकै समयअघि नै प्रतिवेदन दिन सकिने अवस्था छ ।’

धेरै विषयमा छलफल भएकाले यो वा त्योभन्दा पनि समग्रमा दुवैलाई मान्य हुने प्रतिवेदन आउने दुवैतर्फका संयोजकले सातौं बैठकपछि काठमाडौंमा बताएकाले मस्यौदामा समस्या नरहेको खनालको भनाइ छ । सन् १९५० को शान्ति तथा मैत्री सन्धिका विषयमा भएका केही सानातिना विषय, सीमा, डुबान, व्यापार सम्झौतालगायत केही प्रावधानमा सहमति हुनेबित्तिकै प्रतिवेदनले अन्तिम रूप पाउने अर्का सदस्यले बताए । ‘हाम्रो सुझाव बाध्यकारी होइन तर सरकारलाई नैतिक जिम्मेवारी भने रहनेछ,’ ती सदस्यले भने ।

समूहमा नेपालका तर्फबाट थापाको संयोजकत्वमा सूर्यनाथ उपाध्याय, नीलाम्बर आचार्य र राजन भट्टराई सदस्य छन् । कोसियारी संयोजकत्वको भारतीय टोलीमा प्राध्यापक महेन्द्र पी. लामा, प्रा. बीसी उप्रेती र पूर्वराजदूत जयन्त प्रसाद सदस्य छन् भन्दै कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति: Apr 11, 2018

प्रतिक्रिया दिनुहोस्