Logo
२८ पुस २०८१, आईतबार
(April 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक परिमार्जनको माग

जनकपुर : प्रदेश नं २ को प्रदेशसभा बैठकमा सदस्यहरुले ‘प्रदेश नं २ का मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा शर्तसम्बन्धी कानूनी व्यवस्था गर्न बनेको विधेयक, २०७४’ परिमार्जनको आवश्यकता औँल्याएका छन् ।

आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री लालबाबु राउतले प्रस्तुत गरेको सो विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य बाबुलाल साह, मनिष कुमार सुमन, रामचन्द्र मण्डल र गोविन्दबहादुर न्यौपानेले करार सेवा, योग्यता, मुख्यन्यायाधिवक्तालाई सजाय, झुठा मुद्दाबारे स्पष्ट व्यवस्था हुनुपर्ने धारणा राख्दै मुख्य न्यायाधिवक्तालाई समान्तर संगठन बनाउने किसिमले अधिकार दिन नहुने बताए ।

छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राउतले विधेयकको भाषिक त्रुटि सुधार गरिने छ भने । उनले विधेयक महान्यायाधिवक्ता कार्यालयले पठाएकाले स्वतन्त्र रूपले तत्काल यसमा नयाँ प्रावधान राख्न समस्या भएको चर्चा गर्दै कार्यान्वयनमा जटिलता आएमा संशोधन गर्न सकिने छ भने । प्रदेशसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने छ ।

भौतिक पूर्वाधारमन्त्रीलाई विशेष सुरक्षा

प्रदेश नं २ का आन्तरिक मामिला तथा काूननमन्त्री ज्ञानेन्द्रकुमार यादवले भौतिक पूर्वाधारमन्त्री जितेन्द्रप्रसाद सोनारलाई ज्यान मार्ने धम्की आएकामा प्रदेश सरकार गम्भीर भएको बताभएका छन् । आज बसेको प्रदेशसभा बैठकमा प्रदेशको शान्ति सुरक्षाका सम्बन्धमा जानकारी गराउँदै उनले पूर्वाधारमन्त्री सोनारलाई विशेष सुरक्षा प्रदान गरिने जानकारी दिए ।

प्रदेशसभा सदस्य मनिषकुमार सुमनले प्रदेशसभाको अघिल्लो बैठकमा भौतिक पूर्वाधारमन्त्री सोनार सप्तरीमा सरसफाइ कार्यक्रममा सहभागी भएको बेला सशस्त्र समूहबाट ज्यान मार्ने धम्की आएको जानकारी गराएका थिए। मन्त्री यादवले मन्त्री सोनारबाट लिखित रूपमा जानकारी आएपछि यसबारे सघन रूपले कारबाहीको प्रक्रिया अगाडि बढाइने बताए ।

प्रदेश प्रहरी ऐन नभएका कारण पनि सुरक्षा र प्रशासनिक निकायबीच समन्वयमा समस्या देखिएको उल्लेख गर्दै उनले बम विस्फोट, महिला हिंसा, बलात्कार जस्ता घटनाको नियन्त्रणका लागि सरकारको मुख मात्र ताक्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए । मन्त्री यादवले सरकार शान्ति सुरक्षा भरपर्दो बनाउनेतर्फ प्रयासरत रहेको जानकारी पनि दिए ।

प्रकाशित मिति: Apr 10, 2018

प्रतिक्रिया दिनुहोस्