Logo
४ आश्विन २०८१, शुक्रबार
(April 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घुस लिएर काठ लैजान अनुमति नदिएपछी सेवाग्राहीले कार्यकक्षमै थुने अधिकृतलाई

रामेछाप : सेवाग्राहीले रामेछापका जिल्ला वन अधिकृतलाई कार्यकक्षमै थुनदिएका छन् । सेवाग्राहीसँग खयर जातको गोलिया काठ वाह्य जिल्लामा लैजाने अनुमति दिने भन्दै सेवाग्राहीसँग ५ लाख घुस लिएर काठ लैजान अनुमति नदिएका जिल्ला वन अधिकृत रामविचारी ठाकुरलाई उनकै कार्यकक्षमा मगंलबार दिउँसो सेवाग्राहीले थुनिदिएका छन् ।

जिल्ला वन कार्यालयले व्यक्तिका कान्लाका काठहरु काट्नको लागि हिमाली कच्चा उद्योग हाँसखोसा इटहरीलाई २०६८ सालमा खयर जातको काठ काट्ने अनुमति दिएको थियो । काठ काट्ने अनुमति पाएपछि हिमाली कच्चा उद्योगका कर्मचारीहरुले जिल्लाको साविक मन्थली गाविस वडा नं १, २ र ३ त्यसैगरी साविक भटौली गाविस, भिरपानी, मझुवा, पकरवासलगायतका स्थानमा व्यक्तिहरुको कान्लाका काठ कटान गरेको थियो ।

कटान गरिएको काठहरु मध्ये ४ सय ९० क्युफिट गोलिका काठ कम्पनिलाई लैजान वन कार्यालयले इजाजत दिएपछि ती काठहरु २०६८ सालमा नै लगिएको थियो । पछि वन कार्यालयले विभिन्न अखडा बनाएर काठ लैजाने अनुमति रोकेको थियो । काठ लैजान नपाएपछि कम्पनीले महोत्तरी जिल्ला बर्दिवास नगरपालिका वडा नम्बर १ का रुपनारायण गौतमलाई बाँकी रहेको काठ लैजान अनुमति दिए पनि जिल्ला वन कार्यालयले भने काठ लैजाने अनुमति अहिलेसम्म दिएको छैन ।

व्यवसायी गौतमले बाँकी रहेको काठ लैजान पटक–पटक वन कार्यालयमा धाउँदा पनि वन कार्यालयले काठ लैजान अनुमति दिन १० लाख रुपैयाँ वन अधिकृतले मागेका थिए । सुरुमा ५ लाख रुपैयाँ गौतमसँग लिएर क्षेत्रीय वन कार्यालय हेटौंडामा कागजात मिलाउनु पर्ने भन्दै वन अधिकृत ठाकुरले व्यवसायी गौतमको सवारीसाधन १४ पटक हेटौंडा र रामेछाप ओहोरदोहोर गराएका थिए ।

पछि वन विभाग र अख्तियारको टोलीसमेत रामेछाप आउने र उनीहरुलाई पनि खानपानको व्यवस्थापन गर्नुपर्ने भन्दै उल्टै वन अधिकृतले १२ हजार मूल्य पर्ने रक्सीसमेत व्यवसायीलाई किन्न लगाएर होटलको १ लाख २५ हजार विल समेत तिर्न लगाएको सेवाग्राही रुपनारायण गौतमले जानकारी दिए ।

यसरी पटक–पटक काठ लैजान पूर्जी दिने भन्दै वन अधिकृत ठाकुरले १५ लाख रुपैयाँ खर्च लिएका थिए । रकम लिएर पनि अधिकृत ठाकुरले विभिन्न वाहाना बनाएर थप ५ लाख रुपैयाँ मागेपछि गौतमले जिल्ला वन कार्यालय रामेछापमा पुगेर वन अधिकृत ठाकुरलाई कार्यकक्षमा नै ढोका थुनेर बाहिरबाट ताल्चा लगाइदिएका हुन् ।

वन कार्यालयले सेवाग्राहीलाई बुझाउनु पर्ने राजश्व बुझाउन भनेपछि गौतमले १ लाख ७० हजार रुपैयाँ राजश्व समेत तिरि सक्नुभएको छ । राजश्व तिरिसके पनि वन कार्यालयले काठ लैजाने अनुमति भने अहिलेसम्म दिएको छैन । कटान गरिएको काठ साविक भिरपानी गाविसको सित्खा भन्ने स्थानमा १९ सय क्यूफिट काठ त्यतिकै रहेको छ ।

सेवाग्राहीसँग काठ लैजाने छुटपूर्जी दिने नाममा ५ लाख रुपैयाँ घुस वापतको रकम यसअघि नै लिइसकेका पछि वन विभाग, अख्तियार र क्षेत्रिय वन कार्यालय हेटौडाका कर्मचारीलाई खानपिनमा १ लाख २५ हजार रुपैयाँ तिर्न लगाएका वन अधिकृत ठाकुरले पछि फेरि ५ लाख रुपैयाँ रकम सेवाग्राहीसँग मागेपछि सेवाग्राहीले वन अधिकृतलाई उनकै कार्यकक्षमा ताल्चा लगाइदिएका थिए ।

सेवाग्राहीले उनको कार्यकक्षमा ताल्चा लगाइदिएपछि वन अधिकृत ठाकुर डाँको छाडेर रोएका थिए । अधिकृत रोएको आवाज कार्यकक्ष बाहिर नै सुनिएको थियो । वन अधिकृतलाई ताल्चा लगाउने समयमा सेवाग्राहीले सञ्चारकर्मीलाई समेत बोलाएका थिए । पछि जिल्ला वन अधिकृतसँग सञ्चारकर्मी जानकारी लिन खोज्दा वन अधिकृत ठाकुरले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

प्रकाशित मिति: Apr 10, 2018

प्रतिक्रिया दिनुहोस्