तीनदिनपछि आईजीपीको पद रिक्त हुँदै, आकंक्षीहरुको दौड तीव्र
काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा संगठन प्रमुखको अनिर्वाय अवकाश हुन तीन दिन मात्रै बाँकी छ । दुवै संगठनमा नयाँ संगठन प्रमुख को हुने भन्ने चर्चाले बजार तताएको हो ।
सरकारले दुवै संगठनको आईजीपी नियुक्त गर्ने दिन नजिकिँदै गर्दा आईजीपीका दाबेदारहरूले संगठनमा निभाएको भूमिकालाई मूल्यांकनको आधार बनाएको छ ।
सशस्त्र प्रहरी बलमा आईजीपीको दाबेदारका रूपमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाल एक्लो प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।
खनालको ब्याचबाट उहाँ एक्लै एआईजी बनेका थिए । उनका सहयात्री ३ जना ११ महिनापछि मात्रै एआईजीमा बढुवा भएका थिए । कार्य सम्पादन मूल्याङ्कन र संगठन हाँक्न सक्ने क्षमता र वरिष्ठताको आधारमा खनाल एक नम्बरमा रहेका छन् ।
नेपाल प्रहरीमा यसअघि वरीयता मिचिए पनि सशस्त्र प्रहरी बलमा भने अहिलेसम्म वरिष्ठतालाई बेवास्ता गरिएको छैन । गृह स्रोतका अनुसार नेपाल प्रहरीमा डीआइजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की र धिरु बस्न्यातमध्येबाट एकजना आइजीपी बन्ने अवस्था छ ।