Logo
२७ पुस २०८१, शनिबार
(April 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्री राजनाथ सिंहले गरे ओलीलाई स्वागत, यस्ता छन् प्रधानमन्त्री भ्रमणका तीनदिने कार्यक्रम

नयाँदिल्ली : ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी ओली शुक्रबार नयाँदिल्ली उत्रेका छन । उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् ।

राजकीय भ्रमणमा प्राय: राज्यमन्त्रीस्तरबाट नै स्वागत गर्ने चलन भए पनि प्रधानमन्त्री ओलीलाई प्राथमिकता दिँदै मन्त्रिपरिषद्का दोस्रो वरीयतामा रहेका मन्त्रीलाई विमानस्थल पठाएका हुन्। पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालापछि ओलीलाई उच्चस्तरको सम्मान दिइएको हो। कोइरालालाई भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले विमानस्थल पुगेर स्वागत गरेका थिए।
प्रधानमन्त्री ओलीलाई विमानस्थलको अतिविशिष्ट कक्षमा सिंहले स्वागत गरेका हुन्। उनको स्वागतबाट स्पष्ट हुन्छ भारतको सन्देश नेपालको सुरक्षाको विषयमा बढी केन्द्रित हुनेछँ। भारतले नेपालमा सुरक्षा चासो देखाउदै आएको छ।ओलीको स्वागतमा गृहमन्त्री सिंहसँग, अर्थराज्यमन्त्री शिवप्रताप शुक्ल विदेश मन्त्रालयका अधिकारीहरु विमानस्थल पुगेका थिए।
त्यस्तै भारतका लागि नेपाली कार्यवाहक राजदूत भरतराज रेग्मीसहितको टोली पनि विमानस्थल पुगेको थियो। नेपाली समुदायको पनि भीड लागेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै जानसक्ने भनिए पनि आन्तरिक राजनीतिको कारण उनले गृहमन्त्रीलाई पठाएको बताइएको छ। भारतीय जनता पार्टिका अध्यक्षसमेत रहिसकेका सिंह नेपाल जानकार वरिष्ठ राजनीतिज्ञ हु्न। तीन तहको निर्वाचनपछि बनेको सरकारको नेतृत्व गरेका ओली राजकीय भ्रमणका लागि दिल्लीको पाहुना बनेकाले पनि उनलाई दिल्लीले महत्व दिएको हो।
निकै प्रशन्न मुद्रामा देखिएका ओलीले सम्बन्धलाई सुदृढ र विश्वासीले बनाउन आवश्यक रहेको बताइरहेका थिए। यद्यपि उनी बाहिर अझै निस्केका छैनन्। केही त्यहाँबाट ओलीका सानो समूह राष्ट्रपति भवन र अन्य टोली होटल ताजमा जानेछन्।
काठमाडौंबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारीसहितको सरकारी टोली ५४ बनेको छ। नेपाल वायु सेवा निगमको चार्टर उडानबाट शुक्रबार बिहान दिल्ली आइपुगेका हुन्। प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसदहरु र अन्य सल्लाहकारलगायत छन्। परराष्ट्रमन्त्री ज्ञवाली शुक्रबार नै अजरबैजानबाट दिउँसो तीन बजे दिल्लीमा आउनेछन्।
प्रधानमन्त्री ओलीले शुक्रबार साँझ नै समकक्षी मोदीसँग संक्षिप्त भेटवार्ता गर्नेछन्। उक्त भेटमा शनिबारको औपचारिक छलफलमा हुने विषयहरु केही तय हुनसक्ने अधिकारीहरुले बताएका छन्। उनले आजै भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई पनि भेट्ने कार्यक्रम छ। उनी प्रतिपक्ष दलका नेता समेत हुन्।

प्रधानमन्त्री ओली मित्रराष्ट्र भारतको राजकीय भ्रमणका लागि शुक्रबार बिहान नयाँदिल्ली पुगेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीले पहिलो विदेश भ्रमण गरेका हुन् ।

चैत २५ गतेसम्म भ्रमणमा ‌ओलीले भारतीय राष्ट्रपति, प्रधानमन्त्रीलगायतसँग उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने छन् भने रिमोटद्वारा वीरगञ्जस्थित एकीकृत जाँचचौकी र अरुण तेस्रोको संयुक्त उद्घाटन, नेपाली समुदायसँग अन्तरक्रियालगायत कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीको भ्रमण तालिका
पहिलो दिन, शुक्रबार
  • बिहान १०: ४५ मा दिल्ली अवतरण
  • अपरान्ह १२:४५ मा होटल ताज प्यालेसमा इन्डियामा भारतीय उद्यमी व्यापारीहरुसँग अन्तरक्रिया
  • यसबीचमा केही निजी तथा राजनीतिक भेटघाट
  • बेलुका ४:४५ मा नेपाली दूतावासमा नेपाली समुदायसँग अन्तरक्रिया
  • लगत्तै राहुल गान्धीसँग भेटवार्ता (अझै तय हुन बाँकी)
  • साँझ ६:३० मा प्रधानमन्त्री मोदीसँग उनको निवासमा भेटवार्ता
  • नेपाली दुतावासद्वारा होटल इम्पेरियलमा आयोजित रात्रिभोजमा सहभागी
शनिबार
  • बिहान ९:०० मा राष्ट्रपति भवनमा गार्ड अफ अनरसहित सेरेमोनियल रिसेप्सन
  • बिहान ९:३० मा राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार भेट
  • १०:१५मा विदेशमन्त्री सुष्मा स्वराजद्वारा शिष्टाचार भेटवार्ता
  • बिहान ११ महात्मा गान्धीको समाधीस्थल राजघाटमा माल्यार्पण
  • ११:३० मा हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता (मुख्य वार्ता)
  • अपरान्ह १२ :१५ बजे रिमोटद्वारा वीरगञ्जस्थित एकीकृत जाँचचौकी र अरुण तेस्रो उद्घाटन
  • त्यसलगत्तै संयुक्त पत्रकार सम्मेलन,
  • त्यसपछि राजनीतिक भेटघाट
  • साँझ ६ मा उपराष्ट्रपति बैंकया नायडुसँग शिष्टाचार भेट
  • ७:०० मा गृहमन्त्री राजनाथ सिंहद्वारा शिष्टाचार भेट
  • ७:३०मा इन्डिया फाउन्डेशनको कार्यक्रममा नागरिक अभिनन्दन र सम्बोधन
तेस्रो दिन आइतबार
  • बिहान ९ मा उत्तराखण्ड पन्तनगरका लागि प्रस्थान
  • पुगे लगत्तै ब्रिडर सिड प्रोडक्सन सेन्टर, एकीकृत कृषि परियोजनाको निरिक्षण,
  • कृषि विश्वविद्यालयकै हलमा मानार्थ विद्यावारिधीको प्रमाणपत्र प्रस्तुत हुने,
  • त्यसलगत्तै नयाँ दिल्ली हुँदै ६ बजे नेपाल एअरलाइन्सको चार्टर उडानमा स्वदेश फिर्ता

प्रकाशित मिति: Apr 6, 2018

प्रतिक्रिया दिनुहोस्