Logo
१० मंसिर २०८१, सोमबार
(April 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रमको भ्रमणमा गौरीफण्टा नाका स्तरोन्नतिको एजेण्डा उठाउन माग

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका बेला प्रदेश नम्बर ७ को प्रमुख नाका कैलालीको गौरीफण्टालाई स्तरोन्नतिका लागि प्रमुख एजेण्डा बनाउनुपर्ने माग गरिएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणका बेला दुई देशबीच उक्त नाकालाई अन्तरराष्ट्रिय नाका बनाउन भएको लिखित सहमतिलाई वर्तमान सरकारले कार्यान्वयनमा ल्याउन निजीक्षेत्रले माग गरेको हो ।

उद्योग वाणिज्य महासङ्घ प्रदेश ७ र कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्करबहादुर बोगटी नेतृत्वको टोलीले प्रदेशकै प्रमुख नाकाको रूपमा रहेको गौरीफण्टा नाकालाई आयात निर्यातयोग्य नाकाको रूपमा स्तरोन्नति गर्न प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ध्यानाकर्षण गरेको छ । दुई देशबीच भएको सहमतिलाई कुनै पनि हालतमा खारेज गर्न नहुने भन्दै बिहीवार धनगढी उपमहानगरपालिकाले समेत ज्ञापनपत्र बुझाएको छ ।

भारतमा बेलायती इष्ट इण्डिया कम्पनी भएको बेला १९०५ देखि उक्त नाका सञ्चालन हुँदै आएको छ । उक्त समयमा पलिया–गौरीफण्टा रेल सेवासमेत सञ्चालनमा थियो । दुधुवा नेशनल पार्क परेको भन्दै संरक्षण क्षेत्रमा क्रियाशील अन्तरराष्ट्रिय सङ्घसंस्थाहरूको दबाबमा रेलमार्ग सेवा सन् १९९४मा बन्द भएको थियो । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य गोपाल हमालले प्रदेश राजधानीभन्दा गौरीफण्टा स्तरोन्नति महŒवपूर्ण भएकाले राजनीतिक आडमा नाका सार्ने वा बन्द गर्ने षड्यन्त्र भइरहेको बताए ।

नाका स्तरोन्नतिका लागि सम्झौता गर्ने वातावरण निर्माण गर्न झण्डै २० वर्ष लागेको थियो । हालै मात्र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले उक्त नाका स्तरोन्नतिभन्दा पनि अन्य विकल्प खोज्नुपर्ने अभिव्यक्ति दिएका थिए । राजदूत पुरीले सम्झौताविपरीत अभिव्यक्ति दिएको भन्दै धनगढी उपमहानगरपालिका, उद्योग वाणिज्य सङ्घ तथा विद्यार्थी सङ्गठनहरूले कुनै पनि हालतमा सम्झौता नतोड्न प्रधानमन्त्रीलाई सचेत गराएका छन् ।

प्रकाशित मिति: Apr 6, 2018

प्रतिक्रिया दिनुहोस्