Logo
२९ कार्तिक २०८१, बिहीबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आतंककारी समूह बोको हरामको आक्रमणमा बीस मारिए

नाइजेरियाको उत्तरी शहर मैदुगरीमा रहेको एक सैन्य शिविरमा बोको हराम आतंककारी समूहले गरेको आक्रमणमा परी कम्तीमा २० व्यक्तिको मृत्यु हुनुका साथै अन्य दर्जनौँ घाइते भएका छन् । नाइजेरियाका सरकारी सुरक्षा अधिकारीहरुले सोमबार नै सो जानकारी दिएको समाचारमा जनाइएको छ ।

शहरको प्रवेशद्वारमा अवस्थित प्लानतासन क्षेत्रमा रहेको सो सैन्य शिविरमा मोर्टास्, बन्दुक र आत्मघाती बमद्वारा बोको हराम आतंककारी समूहले आक्रमण गरेका मैदुगरीका वरिष्ठ सैन्य आधिकारीले जानकारी दिनुभएको छ ।स्थानीय समयानुसार सोमबार राति ८ः५० मा सात जना आत्मघाती आक्रमणकारीसहित १८ जना बोको हराम आतंककारी हिँडेरै आएका र अत्याधुनिक हतियारले आक्रमण शुरु गरेका बताइएको छ ।

यस आक्रमणमा परी मारिनेमा सेना नै बढी परेका बताइएको छ । तर यस विषयमा विस्तृत समाचार भने आएको छैन ।शुरुमा १८ व्यक्तिको मृत्यु भएको भनिए पनि सो संख्या पछि २० पुगेको यहाँको संकटकालीन व्यवस्थापन निकायले एएएफपी समाचार समितिलाई जानकारी दिएको छ ।यस आक्रमणमा परी करीब ८२ जना घाइते भएका छन् । तर घाइतेमध्ये कैयाँैको अवस्था चिन्ताजनक भएकाले मृतकको संख्या बढ्ने पनि प्रहरी अधिकारीहरुले अनुमान गरेका छन् ।

बोर्नो र मैदुगरी राज्यमा बोको हरामको ठूलो बाहुल्यता रहेको बताइन्छ । सोही राज्यबाट नै उनीहरुले आफ्नो संगठन शुरु गरेका पनि बताइएको छ ।सोही कारण पनि उनीहरुले उक्त राज्यमा धेरै हिंसात्मक गतिविधिहरु गर्ने गरेका छन् । यहाँको बोको हरामले गरेको आक्रमणका कारण अहिलेसम्ममा कम्तीमा पनि नाइजेरियामा नै २० हजार नागरिकको ज्यान गइसकेको छ ।

नाइजेरियामा बोको हरामले ठूलो हिंसा मच्चाइरहेका छन् । उनीहरुलाई यहाँको राज्यले नै आतंककारी समूहमा राखेको छ ।उनीहरुको हिंसाका कारण त्यहाँका लाखौँलाख मानिस विस्थापित भएका छन् । हिंसा अझै रोकिएको छैन ।

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्