अग्नि सापकोटाले भने-भूकम्पपीडितलाई सरकारले दुःख दियो
काठमाडौं : चीनसँगको सीमा जोडिएको तातोपानी नाका तत्काल संञ्चालन गर्ने व्यवस्था गर्न सरकारसँग नेकपा माओवादी केन्द्रका सांसद अग्निप्रसाद सापकोटाले माग गरेका छन् । संसदमा सार्वजनिक महत्वको विषयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
तीन वर्षअघि आएको विनासकारी भूकम्पपछि बन्द रहेको तातोपानी नाका सञ्चालन गर्न सरकारले राजनीतिक र गहन कूटनीतिक पहल नगर्नु लज्जास्पद भएको भन्दै उनले तत्काल नाका संचालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराए । दैनिक करोडौं राजस्व संकलन हुने तातोपानी नाका नखुल्दा स्थानीय सर्वसाधरण प्रभावित भएको भन्दै गम्भीर बन्न उनले आग्रह गरे ।
आफूले चिनियाँ अधिकारीहरुसँग छलफल गर्दा मुख्य गरी उनीहरुले रणनीतिक र भूगोलको सुरक्षाको विषयलाई प्राथमिकताका साथ उठान गरेकोले नेपाल सरकारले यो विषयलाई सम्बोधन गर्ने पर्ने बताए ।
सांसद सापकोटाले अरनिको राजमार्ग विस्तारका लागि आएको १४ अर्ब ९४ करोड रुपैयाँ र ड्राईपोट निर्माणका लागि दिएको ३ अर्ब रुपैयाँका बारेमा सदनलाई जानकारी गराउन माग गरेका थिए ।
यस्तै उनले सरकारले भूकम्पपीडित जनतालाई प्रभावकारी किसिमले अनुदान वितरण गर्नुको साटो अनेक जालझेल कागजी समस्या देखाएर जालझेल, छलछाम गरेकोले अब आइन्दा यस्तो नगर्नसमेत ध्यानाकर्षण गराए ।