विरेठाँटीमा यही चैत २९ देखि वैशाख १ गतेसम्म क्यानोनिङ प्रतियोगिता हुँदै
पोखरा : पर्यटकलाई झरना देखाउनेमात्र नभई साहसिक खेल खेलाएर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ विरेठाँटीमा क्यानोनिङ गरिने भएको छ । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ८ स्थित पर्यटकीयस्थल विरेठाँटीको पनेरी झरनामा यही चैत २९ देखि वैशाख १ गतेसम्म तीनदिने क्यानोनिङ प्रतियोगिता हुने भएको हो ।
वीरेठाँटी र पोखरा क्यानोनिङद्वारा संयुक्त रुपमा आयोजना गर्न लागिको सो प्रतियोगितामा मुलुकका ६० जना क्यानोनिङ गाइडको सहभागिता रहने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । डोरीको सहायताबाट ५० मिटर उचाइको पानीको झरनासँगै झर्ने सो प्रतियोगितामा क्रमशः प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कारको व्यवस्था गरिएको पोखरा क्यानोनिङका संयोजक राम गुरुङ बताएका छन् ।
छ महिनाअघिदेखि सञ्चालनमा आएको सो प्रतियोगगिता अन्तर्गत झरनामा मासिक सरदर ३० जना साहसिक खेलमा सहभागी बन्ने गरेका छन् । गाइडलाई सम्बन्धित निकायबाट अनुमतिपत्रको व्यवस्था गर्न नसक्दा प्रचुर सम्भावना रहेर पनि साहसिक पर्यटन प्रवद्र्धनमा सोचेजस्तो गति लिन नसकेको उनको बताएका छन् ।