Logo
११ मंसिर २०८१, मंगलबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांस्कृतिक उत्सव यात्रा : जनकपुरमा मिथिला-सुदूरपश्चिमको सांस्कृतिक फ्यूजन

जनकपुर : जनकपुरको जानकी मन्दिरमा मंगलबार आयोजना गरिएको सुदूरपश्चिमको सांस्कृतिक उत्सवमा मिथिला कला र संस्कृति पनि प्रदर्शन गरिएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाज कैलालीले प्रस्तुत गरेको देउडा, भुवा, सखिया, छलिया, हुड्केली र होरी नृत्यमा मैथिली लोकसंस्कृतिका अगुवाहरुले पनि सहभागिता जनाए । मैथिली गायक नविन मिश्रले गोदना गीत गाँउदै सुदूरपश्चिमको साहित्य, सांस्कृतिक र पर्यटकीय दर्शनमा देश दौडाहामा रहेका कलाकारको स्वागत गरे ।

सुदूरपश्चिमको सांस्कृतिक टोलीलाई मैथिली टोपी लगाएर स्वागत गरिएको थियो । कलाकारहरुले मैथिली पहिरन (पाग) मै देउडा नृत्य नाँचेका थिए । समाजका महासचिव हरिकृष्ण कडायतले सुदूरपश्चिम र मिथिलाको लोक संस्कृतिको फ्यूजनले सांस्कृतिक विविधता झल्काएको बताए । समाजको २५ औं वर्ष प्रवेश अवसरमा सुदूरपश्चिमका ८ वटा संस्कृति झल्किने नृत्य बोकेर देश दौडाहामा निस्किएको हो ।

‘एक–अर्काको संस्कृति र कलालाई आदानप्रदान गर्न देश दौडाहा थालेका हौं,’ कडायतले भने, ‘हामी सांस्कृति फ्यूजनको चरणमा छौं ।’ समाजका अध्यक्ष एवं लेखक रामलाल जोशीले विविधता र भिन्नतालाई कला–संस्कृतिले जोडेको बताए । ‘साहित्य र संगितले मनलाई जोड्छ,’ उनले भने, ‘विविधतामा आधारित संस्कृति जोड्ने अभियानमा छौं । मिथिलाको संस्कृति हामी धनगढीमा हेर्न चाहन्छौं ।’ देशदौडाहाका संयोजक यज्ञराज उपाध्यायले कला–संस्कृतिको बिविधता नै सुन्दरता रहेको बताउँदै मिथिलामा सुदुरपश्चिमको संस्कृति देखाउन पाएकोमा खुशि व्यक्त गरे ।

सुदूरपश्चिमका कलाकारलाई मिथिलाका कलाकारले पनि साथ दिएका थिए । देउडा नृत्यबाट सुरु भएको सुदूरपश्चिमको सांस्कृतिक प्रस्तुतिमा मैथिली कलाकार, साहित्यकार र राजनीतिकर्मी पनि सहभागि भए । मैथिली टोपी लगाएर देउडा नृत्य नाँचिएको थियो । सुदूरपश्चिमको खेल रहेको देउडा अब उनीहरुको संस्कृति बनेको छ ।

भूमिरक्षाका लागि सुदूरपश्चिममा थालिएको आन्दोलन भुवा नृत्य अहिले उनीहरुको संस्कृति बनेको छ । तरवार र कबज बोकेर प्रदर्शन गरिएको भुवा नृत्य हेरेर मिथिलावासी रमाए । सुदूरपश्चिमको पर्व गौरा नृत्य, थारु समुदायको सखिया, शासकले छल गरेर परास्त गर्ने छलिया, हुड्केली र थारुको राना समुदायको होरी नृत्यमा मिथिलावासी रमाएका थिए ।कञ्चनपुरको भीमदत्तनगरबाट थालिएको सुदूरपश्चिमको साहित्य, सांस्कृतिक र पर्यटकीय देशदर्शन दौडाहा मंगलबार अपरान्ह पूर्वको इटहरी पुग्दैछ ।

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्