कर्मचारी र प्रहरीबीच झडप हुदाँ ३ जना आन्दोलनकारी सहित ७ प्रहरी घाइते
कास्की : मणिपाल शिक्षण अस्पतालमा आन्दोलनरत कर्मचारी र प्रहरीबीच झडप हुदाँ ३ जना आन्दोलनकारी सहित ७ प्रहरी घाइते भएका छन् ।झडपको क्रममा आन्दोलनरत कर्मचारीहरु राजबहादुर घर्ती, कर्णबहादुर के.सी. र अमर गुरुङ घाइते भएका छन । उनीहरुको घाँटी तथा टाउकोमा चोट लागेको छ । उनलाई त्यसै अस्पतालमा उपचार गरिएको छ । झडपमा अस्पताल भवनका केही सिसा फुटेका छन् । झडपमा कर्मचारीहरु पार्वती प्रधान र पार्वती गुरुङ्ग पनि सामान्य घाइते भएका छन् ।
प्रहरी र आन्दोलनकारीबीच अस्पतालमा केहीबेर झडप भएको थियो । झडपबाट दर्जनभन्दा बढी आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले बताउनुभयो ।पोखराको मणिपाल शिक्षण अस्पतालमा कर्मचारीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो । १० महिनाअघिदेखि तलब र सेवा सुविधा वृद्धिको माग गर्दै आन्दोलनरत कर्मचारीहरुले केही सातादेखि प्रदर्शन गरेका थिए ।
तलबको १० प्रतिशत घरभाडा बापतको सुविधा दिनुपर्ने, खटिएका इन्चार्जहरुलाई इन्चार्जको छुट्टै भत्ता उपलब्ध गराउनुपर्ने, संञ्चित बिदाको १ सय ८० दिन बिदा पाउनुपर्ने, अस्थायी र करारमा लामो समयदेखि कार्यरत कर्मचारीलाई स्थायी गराउनुपर्नेलगायतका माग कर्मचारीले राखेका छन् ।कर्मचारीहरुले ११ दिनदेखि लगातार धर्ना दिँदै आएका थिए । सोमबार पनि ८ बजेदेखि १२ बजेसम्म धर्ना दिने कार्यक्रम थियो । तर, बिरामीका आफन्तले विरोध गरेपछि अस्पतालमा तनाव भएको थियो ।
प्रहरीले कर्मचारी युनियन मणिपालका अध्यक्ष नवराज भण्डारीलाई पक्राउ गरेर लगेको मनिपालका कर्मचारी पविन बास्तोलाले जानकारी दिनुभयो । कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले सेवामा अवरोध गरेका कारण नियन्त्रणमा लिनुपरेको बताए।