संघीय संसद्मा १४ वटा संसदीय समिति बनाउने तयारी
काठमाडौं : संघीय संसद्मा १४ वटा संसदीय समिति बनाउने तयारी भएको छ । प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ४ गरी विषयगत समिति मात्रै १४ वटा बनाउने प्रक्रिया अघि बढाइएको हो ।
यसका लागि दुवै सभाका नियमावली मस्यौदा समितिले छलफल अघि बढाएका छन् । प्रतिनिधिसभामा १० वटा विषयगत समिति बनाउने सहमति भएको मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेलले बताए । उनले भने, ‘१० वटा विषयगत समिति बनाउने सहमति भएको छ । नामबारे मोटामोटी सहमति भइसके पनि अर्को बैठकमा टुंगो लाग्नेछ ।’ संघीय संसद् सचिवालयले तयार पारेको नियमावलीको मस्यौदामा भने सातवटा विषयगत समिति रहने खाका तयार भएको थियो ।
आइतबार बस्ने समिति बैठकले प्रतिनिधिसभामा कुन–कुन संसदीय समिति रहने भन्ने टुंगो लाग्ने समिति सदस्य एवं माओवादी केन्द्रकी नेतृ रेखा शर्माले बताइन् । उनले भनिन, ‘समितिको कार्यक्षेत्र विवाद नहुने गरी मन्त्रालयको आधारमा समितिको नाम टुंगो लगाइनेछ।’