Logo
११ मंसिर २०८१, मंगलबार
(March 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अचानकको असिनाले सखाप : घर भित्रियाउने समयमा बालीनाली नष्ट

शुक्रबार अचानक परेको असिनापानीले प्रदेश नम्बर २ का प्रायः सबै जिल्लामा गहुँ, दाल, आँप खेतीमा नराम्रो क्षति पुर्याएको छ। घर भित्रियाउने समयमा असिना पर्दा गहुँबाली र दाललगायत बाली नष्ट भएपछि किसान निराश भएका छन्। असिनाले सर्लाहीको दक्षिणी क्षेत्रको बलरा, अचलगढ, मिर्जापुर, छतौना, गडहिया डुमरिया, हथिऔललगायतको क्षेत्रमा नराम्रो असर गरेको बलराका मेयर अभय कुमार सिंहले बताए। बिहान साढे आठ बज पछि करिब ३५ मिनेटसम्म परेको असिनाले गहुँ, मुसुरो, आँप, प्याज तथा लसुनलगायतका बालिमा क्षति पुर्याएको हो।

घर भित्र्याउने बेलामा असिना पानीले बालीनाली नष्ट गरेको बलरा नगरपालिका ३ का धीरेन्द्र झाले बताए। ‘गहुँ पाकेर घर भित्र्याउने अवस्थामा थियो। दुईचार दिनमा गहुँ काटेर घरमा ल्याउने सोचमा थिएँ। अचानक असिना आउँदा सबै बाली नष्ट भएको छ’, झाले भने, ‘गहुँ पूरै झरेर गएको छ। अब बचेको पनि पानीले सडेर जान्छ। असिनासंगै आएको पानीले खेतमा लागेको मसुरो पूरै हिलाम्य बनेको छ। खेत नसुकेसम्म काट्न मिल्दैन्। वर्षभरीको लगानी खेर गयो।’

असिनाले आँपका चिचिला झार्दा आफू बिच्चली भएको बलरा ३ का रामनाथ चौधरीले बताए। ‘६५ हजारमा २५ वटा आँपका रुख भाडामा लिएका थियौँ, चौधरीले भने, ‘असिनाले चिचिला झार्दा अब लगानी उठ्दैन्।’ यसवर्ष राम्रो आँप फलेको थियो। आम्दानी राम्रो हुन्छ भन्दै किसानले ठूलो लगानी गरिरहेका थिए। खेतमा लगाएको १ बिघा जतिको गहुँपनि झरेर गएको उनले गुनासो गरे। मुसुरोको हालत पनि त्यस्तै रहेको चौधरीले दुखेसो पोखे, ‘अब कसरी गुजार गर्ने ?’

बिहानै असिना पर्दा काम गर्न खेतमा पुगेका कतिपय किसानको टाउको समेत फुटेको छ। बाहिर रहेका चौपयालाई पनि असिनाले नराम्ररी चुटेको छ। सुरुमा सानासाना असिना परेका थिए। पछि ठू–ठूला पर्दा बाहिर रहेका गाडीको समेत शिशा फुटेको छ। बाहिर रहेका प्लाष्टिकका भाँडाहरु एउटा पनि प्रयोग गर्न नमिल्ने भएका छन्। कच्ची घरका छानाबाट असिना छिरेर घर नै भरिएका छन्।

प्रकाशित मिति: Mar 30, 2018

प्रतिक्रिया दिनुहोस्