Logo
२७ पुस २०८१, शनिबार
(March 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैशाख महिनाभित्र काठमाडौं उपत्यकाको सडकलाई व्यवस्थित बनाउने घोषणा

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वैशाख महिनाभित्र काठमाडौं उपत्यकाको सडकलाई व्यवस्थित बनाउने घोषणा गरेका छन् । मन्त्री महासेठले यात्रुको चाप रहेको काठमाडौंको मुख्य–मुख्य स्थानमा तत्काल सडकको उचित व्यवस्थापन गर्न निर्देशन दिइएको पनि स्मरण गराए ।

शुक्रबार काठमाडौंमा आयोजित ‘समाजवादका लागि भौतिक पूर्वाधार’ विषयक विचार गोष्ठीमा बोल्दै सो कुराको घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘निर्माण क्षेत्रमा देखिएको विकृति र विसंगतिलाई पनि वैशाख महिनाभित्रै समाप्त पार्ने लक्ष्य छ ।’

यसका साथै, सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सडक विस्तारको काम पुरा नभई बजेट निकासा नगर्न सरकारलाई सुझाव दिएका छन् । वरिष्ठ नेता नेपालले काम सम्पन्न भएपछि मात्रै एकमुष्ट बजेट निकासा भए सडक निर्माणको काम समयमै सम्पन्न हुने अवस्था आउने पनि स्पष्ट पारे ।

उनले समयमै गुणस्तरीय काम सम्पन्न हुने व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले ‘झोलामा सडक र पोल’ हालेर हिँडेका कारण काठमाडौं उपत्यकाको सडकको अवस्था दयनीय बन्न गएको पनि स्मरण गराए । वरिष्ठ नेता नेपालले परिणाममुखी काम गर्न पनि सम्बन्धित निकायलाई सचेत गराउन सरकारसँग आग्रह गरे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गराउँदै सोही अनुसार सरकारका सबै निकायले काम गर्ने विश्वास पनि व्यक्त गरे । कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थासम्बन्धी कार्यक्रमबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति: Mar 30, 2018

प्रतिक्रिया दिनुहोस्