अमेरिकालाई रूसको जवाफी कारबाही, ६० जना अमेरिकी कुटनीतिज्ञ निस्कासित
रुसले अमेरिकाका ६० कुटनीतिज्ञलाई निस्कासित गर्नुका साथै सेन्ट पीटर्सवर्गको कन्सुलेट सेवा बन्द गर्ने निर्णय पनि गरेको छ । निस्कासित गरिएका अमेरिकी कुटनीतिज्ञहरुलाई रुस छोड्नका लागि एक हप्ताको समय दिइएको बीबीसीले जनाएको छ । रुसको यो निर्णयलाई ब्रिटेनमा रुसी जासुसलाई विष दिएको मामलामा अमेरिकाको तर्फबाट गरिएको कारवाहीको जवाफमा रुसले उठाएको कदम मानिएको छ । रुसी विदेशमन्त्री सर्गेइ लाभरोवले रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने अन्य देशहरुलाई पनि समान जवाफ दिइने बताएका छन् ।
रुसका पूर्व जासुस सर्गेई स्क्रिपल र उनकी छोरी यूलिया गत ४ मार्चमा ब्रिटेनको सेलिस्बरी सहरको एउटा टेबलमा बेहोस अवस्थामा भेट्टिएका थिए । व्रिटेन सरकारले यस हमलाका लागि रुसलाई जिम्मेदार मानेको थियो । व्रिटेनका साथ एकजुटता देखाउदै २० भन्दा बढी देशले रुसका कुटनीतिज्ञलाई निस्कासित गरिसकेका छन् । तीमध्येको अमेरिका पनि एउटा देश रहेको छ ।
अमेरिकाले यसै हप्ता ६० जना रुसी कुटनीतिज्ञलाई देश निकाला गरेको थियो र सिएटलस्थित रुसी वाणिज्य दूतावास बन्द गराउने निर्णय गरेको थियो । अमेरिकाको उक्त कारबाहीको जवाफमा रुसले मस्कोमा रहेको अमेरिकाका ५८ र येकेटरीनबर्गमा दुईजना कुटनीतिज्ञलाई निस्कासित गरिदिएको बीबीसीले जनाएको छ ।
रुसका विदेशमन्त्री सर्गेईले जवाफी कारबाहीबारे अमेरिकालाई जानकारी गराइसकेको पनि बताएका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘रुसको यो कदमले अरु देशहरुसँग असल सम्बन्ध राख्न रुस इच्छुक नभएको भन्ने प्रष्ट हुन्छ । अब अमेरिकासँग अर्काे दोस्रो कदम उठाउने अधिकार रहेको छ ।’ एजेन्सी