Logo
३ आश्विन २०८१, बिहीबार
(March 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ३ का पाँच ओटा समितिका सभापतिले लिए शपथ

हेटौँडा : प्रदेशसभा नं ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाअन्तर्गत रहने विभिन्न पाँच समितिमा निर्विरोध निर्वाचित हुनुभएका सभापतिलाई आफ्नो कार्यकक्षमा पद र गोपिनियताको शपथ ग्रहण गराउनुभएको छ ।

शपथ ग्रहण गर्नुहुने प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेल (ललितपुर), अर्थ तथा विकास समितिको सभापतिमा सरेश नेपाल (सिन्धुपाल्चोक), सार्वजनिक लेखा समितिको सभापतिमा न्हुछेनारायण श्रेष्ठ (काठमाडौँ), शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल (चितवन) र उद्योग, पर्यटन, वातावरण समितिको सभापतिमा रमा आलेमगर (काठमाडौँ) हुनुहुन्छ ।

त्यस अवसरमा पाँचवटै समितिका सभापतिले प्रदेशसभा सचिवालयमा पदभार ग्रहण गर्नुभयो । विहिबारै प्रदेश सचिवालयमा बसेका विभिन्न समितिका छुट्टाछुट्टै बैठकले ती समितिका सभापतिलाई निर्विरोध निर्वाचित गरिएको घोषणा गरिएको थियो ।

यही चैत्र १४ गते अपराह्न ३ देखि ५ बजेसम्म समितिका सभापतिका लागि उम्मेदवारी दर्ता गर्ने समय तोकिएकामा पाँचै समितिमा एक/एक जनाको मात्र उम्मेदवारी दर्ता भएकाले निर्विरोध निर्वाचन भएको प्रदेशसभाका प्रमुखसचिव भरतकुमार बुढाथोकीले जानकारी दिनुभयो ।

प्रदेशसभाअन्तर्गत रहने पाँच समितिमध्ये प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य, कृषि र उद्योग, पर्यटन र वातावरण समिति स्थायी रुपमा रहने संसद सचिवालयका उपसचिव अधिराज राईले बताउनुभयो ।

प्रकाशित मिति: Mar 30, 2018

प्रतिक्रिया दिनुहोस्