भेनेजुएलाको एक प्रहरी चौकीमा आगलागी र दङ्गा, ७० को मृत्यु
भेनेजुएला: भेनेजुएलाको भ्यालेन्सिया शहरस्थित एउटा प्रहरी चौकीमा भएको दङ्गा र आगलागीको घटनामा कम्तीमा ७० जनाको ज्यान गएको सरकारी अधिकारीहरूले बताएका छन् ।
राज्यका प्रमुख अभियोजनकर्ता तारेक साबले घटनाबारे तत्काल छानबिन शुरू गरिने बताए। बुधवार थुनुवाहरूले भाग्ने प्रयासमा म्याट्रेसहरूमा आगो लगाएपछि आगलागी शुरू भएको थियो । आगलागीको खबरपछि प्रहरी चौकीको चारैतिर भेला भएका थुनुवाका आफन्तहरूलाई तितरबितर पार्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो ।
घटना भएको काराबोबो राज्यका एकजना अधिकारीले आगलागीको घटनापछि एक प्रहरीलाई गोली हानिएको र अहिले स्थिति नियन्त्रणमा रहेको बताए । थुनुवाका आफन्तहरूले धूँवाले निसासिएर धेरैजनाको ज्यान गएको बताएका छन।
मृत्यु हुनेहरुमा थुनुवाहरूलाई भेट्न गएका महिला तथा बालबालिका पनि छन् ।