कर्णाली प्रदेशबाट सरकारले अब ‘हमला’ मा उत्रन्छ : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले जनताको आवश्यकता पूरा गर्नको लागि सरकारले बेथितीविरुद्ध हमला गर्ने नीति लिने बताएका छन् । उनले सरकारको नीति, योजना तथा कार्यक्रम आउनुपुर्व नै सरकार आक्रमक रुपमा प्रस्तुत हुने बताए । ‘सरकारको नीति योजना तथा कार्यक्रम जेष्ठ १५ गते आउँछ । हाम्रो वैशाख एक गतेदेखि नै एट्याक्ट सुरु हुन्छ,’ उनले भने, ‘त्यो एट्याक्ट कर्णाली प्रदेशबाट सुरु हुन्छ ।’
‘यो सरकार सामान्य ढंगले चल्ने होइन । विगतमा जस्तो नियमित नीति, गतिमा चल्दैन । कार्यशैली असाधारण हुन्छ,’ बुधबारदेखि काठमाडौंमा आयोजित नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को सातौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘अब हरेक बेथितीविरुद्ध हमला गर्ने नीति ल्याउनेछ ।’
उनले मुलुकको समृद्ध, भष्ट्राचार नियन्त्रण र निरक्षर हटाउन अगाडि बढ्ने बताए । ‘कर्णाली प्रदेशले ७५ साललाई पर्यटन वर्ष मनाउने घोषणा गरेको छ । त्यो प्रदेशको पहिलो पर्यटक बन्न चैतको २९ गते नै रारा पुग्छु । त्यहाँबाट पर्यटन वर्षको बिगुल फुक्छु,’ उनले भने, ‘वैशाख ५ गते एक जनालाई स्कुलमा लगेर भर्ना गर्न आफैं जान्छु । त्यो दिन विद्यालय जानबाट बञ्चित बालबालिकालाई विद्यालय भर्नाको लागि लिएर जान मेरो अपिल छ ।’
उनले अर्को हिउँदाबाट जाडोमा कठ्याङ्ग्रिएर र भोकभोकै मर्नुपर्ने खबर सुन्नु नपर्ने दाबी गरे । जिफन्टका अध्यक्ष विष्णु रिमालले स्वदेशमै रोजगार सिर्जना र कामदारलाई बाँच्न पुग्न कामदारको न्युनतम तलब १५ हजार रुपैयाँ पुर्याउने पर्ने बताए ।