Logo
४ आश्विन २०८१, शुक्रबार
(March 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तकोशी नदीमा पानी जहाज संचालन : प्रतिव्यक्ति ४ सय भाडा 

विराटनगर : सप्तकोशी नदीमा करिव तीन करोड लागतमा मिनी पानी जहाज (जेट बोट) ल्याएको छ । बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रा.लि.ले सुनसरीको बराह नगरपालिका –१ चतराको सप्तकोशी नदीमा सञ्चालन गर्न मिनी पानी जहाज ल्याएका हुन् । यूवा पर्यटन व्यवसायीहरु आवद्ध रहेका प्रालिले मिनी पानी जहाज ट सप्तकोशी नदीमा परीक्षण समेत गरेको छ ।

‘परीक्षणपछि तत्काल सञ्चालन गर्ने तयारी थियो,’ बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रा.लि.का अध्यक्ष सन्तोष भण्डारीले भन्नुभयो, ‘केही प्राविधिक समस्या देखिएकोले एक सातापछि सञ्चालन गर्नेछौं । प्राविधिक टोलीले परीक्षण गरेपछि पूर्ण रूपमा एक सातापछि सञ्चालनमा आउनेछ ।’

साढे तीन टनको क्षमता रहेको मिनी पानी जहाजमा एक पटकमा २५ जना यात्रुले यात्रा गर्न मिल्ने र ५ जना चालक दलका सदस्य रहने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । चतराको सप्तकोशी नदीबाट धनकुटाको सिम्मलेसम्म मिनी पानी जहाज जानेछ । प्रतिव्यक्ति ४ सय रुपैयाँमा उक्त स्थानमा १५ मिनेटमा पुग्ने भण्डारीको भनाइ छ । ‘पर्यटन क्षेत्रको विकास गर्नुको साथै जलयात्रा सेवा प्रदान गर्न मिनी पानी जहाज ल्याएका हौं,’ सञ्चालक पशुराम राईले भन्नुभयो, ‘लामो समयको अध्ययन र अनुसन्धानपछि यस क्षेत्रमा मिनी पानी जहाज सञ्चालन गर्ने तयारी गरेका छौं ।

मिनी पानी जहाज सञ्चालनमा आएपछि भोजपुरको हतुवागडी गाउँपालिका, आमचौक, धनकुटा छिन्ताङ, खोकु र उदयपुरको चौदन्डी नगरपालिका तथा विभिन्न नगरपालिका र गाउँपालिका स्थानीयलाई जलयातायातको माध्यमबाट आवत–जावतमा सहज हुने प्रालिका अध्यक्ष भण्डारीले बताउनु भयो । उहाँका अनुसार जलयातायत सञ्चालनको लागि बरहा नगरपालिकाको स्वीकृतसमेत दिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: Mar 26, 2018

प्रतिक्रिया दिनुहोस्