प्रदेश, जिल्ला र स्थानिय तह प्रमुखहरुलाई ‘अफिसियल’ राहदानीको ब्यवस्था
काठमाडौँ : सरकारले प्रदेश प्रमुखदेखि जिल्ला समन्वय समितिका प्रमुख तथा स्थानिय तह प्रमुखहरुलाई ‘अफिसियल’ राहदानीको ब्यवस्था गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख सहित स्थानिय तह प्रमुखहरुलाई विषेश सरकारी राहदानीको ब्यवस्था गर्ने निर्णय गरेको हो ।
सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले निर्वाचनका बेला भएका विभिन्न घटनामा परी घाइते तथा अंगभंग भएकाहरुलाई अस्पतालको बील बमोजिमको रकम प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार कुन्दन अर्याललाई विशिष्ठ श्रेणीको सुविधा पाउने गरी नियुक्त गरेको छ ।
साथै बैठकले प्रधानमन्त्रीको जन–सम्पर्क सल्लाहकारमा अच्यूत मैनालीलाई राज्यमन्त्रीको सुविधा पाउने गरी नियुक्त गरेको छ । यस्तै बैठकले नेपाली सेनाका १३ जना महासेनानीको दुई वर्षका लागि म्याद थप समेत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद वाँस्कोटाले बताए । आगामी चैत १५ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभालाई संयुक्त सम्बोधन गने निर्णय समेत मन्त्रिपरिषदले गरेको छ।