Logo
४ आश्विन २०८१, शुक्रबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पारिश्रमिक नदिइए आन्दोलन गर्ने जनप्रतिनिधिहरुको चेतावनी

सप्तरी : सप्तरीको डाक्नेश्वरी नगरपालिकाका जनप्रतिनिधिहरुले तत्कार पारिश्रमिक र अन्य सेवा सुविधा उपलब्ध नगराए आन्दोलन गर्ने चेतावनी दिएका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय भए पनि आफुहरुले कुनै पनि सेवा सुविधा नपाउको भन्दै अविलम्ब पारिश्रमिक नदिइए आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

पारिश्रमिक र सेवा सुविधा लिन उनीहरुले निर्वाचित पदाधिकारी संरक्षण समिति समेत गठन गरेका छन् । समितिमा वडा सदस्यहरु मात्रै छन् । वडा नम्बर ६ का सदस्य रामसुन्दर मण्डलको अध्यक्षतामा उनीहरुले निर्वाचित पदाधिकारी संरक्षण समिति गठन गरेका हुन् ।

समितिको आइतबार बसेको बैठकले स्थानीय सरकारमार्फत प्रदेश सरकारलाई पारिश्रमिक र सेवा सुविधाको माग गर्दै पत्र पठाउने निर्णय गरेको छ । माग अबिलम्ब पूरा नगरिए चरणबद्व आन्दोलनमा उत्रने चेतावनी उनीहरुले दिएका छन् ।

उनीहरुका अनुसार गत फागुन २४ गते सम्पन्न भएको प्रथम नगर सभाले पारिश्रमिकबारे निर्णय गरिएको थियो । नगरपालिकाका प्रमुखलाई ३५ हजार, उपप्रमुखलाई ३० हजार, वडा अध्यक्षलाई २० हजार र सदस्यहरुलाई १५ हजार रुपैयाँ प्रतिमहिना पारिश्रमिक दिइने निर्णय गरिएको थियो ।

उक्त निर्णय अबिलम्ब कार्यान्वयन हुनुपर्ने उनीहरुको माग छ । आफूहरुको माग अबिलम्ब पूरा नगरिए आन्दोलन थालिने निर्वाचित पदाधिकारी संरक्षण समितिका सचिव मानवीर रजकले जानकारी दिए ।

आइतबार बसेको बैठकमा उपप्रमुख इन्दु यादवको पनि उपस्थिति रहेको थियो । उपप्रमुखले पनि नगर सभाले गरिएको निर्णय कार्यान्वयन हुनुपर्ने माग गरेकी छन् ।

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्