Logo
१२ मंसिर २०८१, बुधबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उच्च अदालतको आदेशपछि एन्फाको साधारणसभा स्थगित

काठमाडौं : उच्च अदालत पाटनको आदेश अनुसार अखिल नेपाल फुटबल संघ एन्फाको चैत १४ गतेका लागि तोकिएको साधारण सभा स्थगित भएको छ । उच्च अदालतको आदेश पछि साधारणसभा स्थगित गरिएको एन्फाका महासचिव धिरेन्द्र प्रधानले आइतबार विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

एन्फामा आवद्ध ४५ जिल्ला फुटवल संघमध्ये भक्तपुर र मकवानपुरले आफूहरुलाई सहभागी नगराई साधारणसभा गर्न लागिएको भन्दै निवेदन दिएपछि उच्च अदालत पाटनले उनीहरु सहभागी हुने अवस्था नबनेसम्म साधारणसभा नगर्न अन्तरिम आदेश दिएको थियो ।

महासचिव प्रधानले निर्वाचन समितिले समेत अदालतको आदेशको सम्मान गर्दै निर्वाचन स्थगित गरेको सूचना टाँस गरेकाले साधारणसभा स्थगित गरिएको बताए । विश्व फुटबल महासंघ फिफा र एशियाली फुटबल महासंघ एएफसीले भने एन्फालाई साधारणसभा स्थगित नगर्न दबाब दिएका थिए ।

प्रधानले यसबारेमा भनेका छन् ‘फिफा र एएफसीको विधान, नीति निर्देशन र नियम अनुसार चल्नुपर्ने भएको हुँदाहुदै पनि देशको कानुनलाई पनि आत्मसात गरी नियम कानुनको अधिनमा रही अघि बढिरहेको जानकारी गराउन चाहन्छु ।’

एन्फाले अदालतबाट उक्त मुद्दाको चाँडै टुंगो लगाएर फिफा र एएफसीको निर्देशनअनुसार साधारणसभाको मिति तोक्ने जनाएको छ ।

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्