Logo
४ आश्विन २०८१, शुक्रबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘अध्यागमन विभागमा भ्रष्टाचार र सेटिङ भएको फेला परे सिधै कारवाही’

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा हुने भ्रष्टाचार र सेटिङबारे आफू जानकार रहेको भन्दै उनले त्यस्ता विकृतिको अन्त्य छिटै गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  विमानस्थललाई २४ सै घन्टा सञ्चालन गराउने बताएका छन् । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा मन्त्री अधिकारीले एयर ट्राफिक जाम कम गर्न विमानस्थलको क्षमता बढाएर सञ्चालन अवधि थपिने बताए ।

‘सिंगल रन-वे भए पनि २४ घन्टा सञ्चालन गर्न सकिन्छ । संसारमा प्रयोग भएका सबैखाले प्रविधिको प्रयोग गरेर व्यवस्थापन गर्न सकिन्छ । विगतमा समय थप्न सकिँदैन भन्नेहरुले पनि अहिले तीन घन्टा थप्न सकिन्छ भनिसके । प्रयास गरियो भने २४ घन्टा पनि सकिन्छ’, उनले भने । विमानस्थल सञ्चालन अवधि बढेसँगै शहरको चहलपहल बढ्ने र त्यसले पर्यटन व्यवसायमा थप टेवा पुग्ने मन्त्री अधिकारीको भनाइ छ ।

मन्त्री अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ भित्रमा सञ्चालनमा ल्याउने बताए । विमानस्थल निर्माणसँग सम्बन्धित सबै पक्षसँग सहमति भइसकेको जानकारी दिँदै उनले द्रुत गतिमा काम सुरु भइसकेकाले सन् २०१९ भित्र सञ्चालनमा आउने बताए । मन्त्री अधिकारीले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रले २५ प्रतिशतको कुल ग्रार्हस्थ उत्पादनमा सहयोग पुर्‍याउन सक्नेगरी काम गर्ने बताए ।

‘सन् २०२० मा कम्तीमा २० लाख पर्यटक भित्र्याउने गरी काम गरिनेछ’, उनले भने ‘अध्ययन र तथ्यांकलाई आधार मानेर भनेको हुँ । कम्तीमा पनि २० लाख पर्यटक आउँछन् ।’ नेपाल वायुसेवा निगमलाई व्यवस्थित बनाउन अध्ययन भइरहेको बताउँदै उनले निगममा आवश्यकताभन्दा धेरै कर्मचारी रहेको पाइएकाले कर्मचारीको व्यवस्थापन गरिने उल्लेख गरे । ‘निगममा १८ सय कर्मचारीले ३ वटा जहाज चलाएर बसेका छन् । कतिपय देशमा १८ सय कर्मचारीले १८ वटा ठूला जहाज चलाएका छन् । हामी पनि त्यस्तै सुधार गर्छौँ’, अधिकारीले भने ।  । मन्त्री अधिकारीले केही दिनभित्रमै आफूले गर्ने कामको क्यालेन्डर सार्वजनिक गर्ने बताए ।

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्