वर्षौं बितिसक्दा पनि न्याय नपाएकोमा द्वन्द्वपीडितको गुनासो
बागलुङ : गलकोट नगरपालिका–२ नरेठाँटीकी सरस्वती विक छोरीका कारण वैचन भएर हिँड्न थालेको १५ वर्ष बित्यो । बेपत्ता छोरीको खोजीमा भौँतारिएकी विकले न छोरी फेला पारिन न त न्याय नै । सशस्त्र द्वन्द्वका बेला विसं २०५९ मा तत्कालीन राज्य पक्षबाट विककी ११ वर्षीया छोरी अनिता बेपत्ता पारिएका कारण उनको अवस्था थाहा पाउँ भनी विकले राज्यका विभिन्न निकाय र संघसंस्था गुहार्न थालेको पनि वर्षौं बितिसकेको छ ।
नवौँ अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवसमा भाग लिन सदरमुकाम आएकी विकले पुरानै माग दोहो¥याएर उनले भनिन् ‘कि सास चाहियो, कि लाश ।’ ‘न्यायका नाममा आश्वासनमात्र दिए, पैसा दिएर घाउमा मलम लाउन खोजे तर न्याय पाइएन । छोरी अनिताको सत्यतथ्य पत्ता नलागेसम्म न्यायका लागि लडिरहन्छु।’ बागलुङ नगरपालिका–७ का श्यामकुमार विक पनि १५ वर्षदेखि बेपत्ता दुई आमा र एक बिहिनीको पखाईमा रहेका छन् ।
सशस्त्र द्वन्द्वकै क्रममा विककी वर्षीया आमा प्रमिला र गौरी विकसहित १८ वर्षीया बहिनी दिलमाया विकलाई तत्कालीन राज्य पक्षले बेपत्ता पारेको थियो । ‘द्वन्द्वका दुवै पक्ष अहिले सरकारमा छन् तर द्वन्द्वपीडितको माग अझैसम्म सुनुवाइ भएको छैन’, उनले भने, ‘राजनीतिक दाउपेचमा पीडितले पाउने न्याय मरेको छ । राहत रकम दिएरमात्र पुग्दैन द्वन्द्वपीडितले न्याय पनि पाउनुपर्छ ।’
“चिलले चल्ला लाँदा त कत्रो पीडा हुन्छ’, उनले भावपूर्ण मुद्रामा भने, “दुबै आमा र बहिनी नहुँदा घर त्यसै अँध्यारो छ ।’ परिवारका तीनैजना सदस्य एकसाथ बेपत्ता भएपछि विकको परिवारमा अहिले पनि शोक र आक्रोश छ ।
उनले पीडितलाई न्याय र पीडकलाई कारबाही नभएसम्म न्यायको लडाइँ लडिरहने उल्लेख गगरेका छन् । सरस्वती र श्याम विकजस्तै जिल्लाका अन्य द्वन्द्वपीडितको अवस्था पनि उस्तै छ । सशस्त्र द्वन्द्वमै १३ वर्षीया छोरा बेपत्ता बनेपछि जैमिनी नगरपालिका–१० का विमल केसी पनि न्यायको खोजीमा संघर्षरत छन् ।
न्याय दिलाउन बनेका आयोगले काम गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको न्यायका लागि द्वन्द्वपीडित समाजका जिल्ला अध्यक्ष बद्रीबहादुर केसीले बताए । ‘सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगले लिएका उजुरीलाई किनारा लगाउनु पर्छ’, उनले भने, ‘ आयोगहरुले राजनीतिक इच्छा शक्तिबाट परिचालित नभई स्वतन्त्र ढंगले पीडितका पक्षमा काम नगरेसम्म र पीडितले न्याय पाउने अवस्था नआउञ्जेल हामी संघर्ष गर्छौं ।’