Logo
४ आश्विन २०८१, शुक्रबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रामनवमी संगै आज चैते दशैं पनि शक्तिपीठमा घुइँचो

काठमाडौं : रामनवमी संगै आज चैते दशैं पर्व मनाइँदै छ । शक्ति पीठहरुमा आज बिहानैदेखि घुइँचो लागेको छ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुईपटक मनाउने गर्दछन् ।

वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । चैते दशैंको दिन काठमाडौंका भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । बडा दशैंमा जमरा र टीका लगाउने प्रचलन भए पनि चैते दशैंमा हुँदैन । चैते दशैंको दिन आइतबार सरकारले सार्वजनिक विदा दिएको छ । यसैबीच राम नवमी र चैते दशैं आज एकै दिन परेको छ । आइतबार बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथी लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दशैं र मध्याह्नमा नवमी परेकाले दुवै पर्व यस वर्ष आइतबार नै परेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । असत्यमा सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्षमा राम मन्दिरहरुमा पूजापाठ गरिन्छ । आइतबार धनुषाको जनकपुरधामस्थित रामजानकी मन्दिरमा विशेष मेला र घुइँचो छ ।

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्