डेढ दर्जन विधेयक संसदमा नयाँ प्रक्रियाबाट छलफल गरिदै
काठमाडौं : डेढ दर्जन विधेयक फेरि नयाँ प्रक्रियाबाट संसदमा छलफल गर्नुपर्ने भएको छ । अघिल्लो संसद्ले टुंग्याउन नसकेका डेढ दर्जन विधेयक फेरि नयाँ प्रक्रियाबाट संसदमा छलफल गर्नुपर्ने भएको हो ।
अन्य कानुनको मस्यौदासमेत नबनेको अवस्थामा निष्क्रिय रहेका विधेयक तत्काल प्रक्रिया अघि बढाएर संसद्लाई ‘बिजनेस’ दिनेबारे तयारी अघि बढेको ससद सचिवालय बताउछ । सचिवालयका अनुशार यसबारे सरकारलाई सुझाव दिइसकिएको छ । अब एक महिनापछि संसद्लाई सरकारले ‘बिजनेस’ दिनुपर्ने हुन्छ ।
त्यो अवधिसम्म एक महिनाभित्र नियमावली बनिसक्नेछ । त्यस्तै, संसदीय समितिहरू पनि गठन भइसक्ने सचिवालयको भनाई छ । यसअघिका सरकारले संसद्मा मस्यौदा दर्ता गरेका १९ विधेयक अन्तिम टुंगो नलागेकाले निष्क्रिय अवस्थामा छन् ।
अघिल्लो संसद्मा जुन अवस्थामा पुगे पनि अहिले ती विधेयक निष्क्रिय भइसकेको संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए । उनले निष्क्रिय विधेयक अब फेरि नयाँ प्रक्रियाबाट अघि बढाउनुपर्ने बताए ।