गाई काटेको आरोपमा ७० वर्षीय वृद्धसहित ४ जना पक्राउ
जितपुर(कपिलवस्तु) : यहाँको विजयनगर गाउँपालिका–४ ज्योतिनगरबाट गाई काटेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
रातको समयमा गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीयवासी ७० वर्षीय हुमबहादुर रानालाई करीब ३० किलो मासुसहित पक्राउ गरेको हो । रानासँग धेरै मासु फेला परेपछि केको मासु हो भनेर सोधपुछ गर्दा गाईको मासु भएको रानाले स्वीकार गरेपछि यो तथ्य बाहिर आएको हो ।
राना पक्राउ परेको भोलिपल्ट गाई काट्नमा सहयोग गरेको भन्दै सोही गाउँबाट शनिबार अन्य ३ जनालाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
शनिबार पक्राउ पर्नेमा कुमारी घर्ती, रामकुमारी घर्ती र कुन्ती थापा रहेको गणेशपुर इलाका प्रहरी कार्यालयका प्रमुख खिमबहादुर घमले जानकारी दिए । पक्राउ परेकालाई कृष्णनगर प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।