नेपाली कांग्रेसले सोमबारदेखि बैठकलाई निरन्तरता दिने
काठमाडौँ : चुनाव सकिएको चार महिनापछि शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । चुनावी समीक्षाका लागि सभापति शेरबहादुर देउवाले बैठक नबोलाएको भन्दै असन्तुष्ट केन्द्रीय सदस्यहरु बैठक बोलाएपछि भने फुर्सदिलो गरी चुनावी समीक्षामा जुटेका छन् ।
बैठक सुरु भएको पहिलो दिन शुक्रबार तीन जनाले बोलेका थिए भने शनिबार थप सात जनाले धारणा राखेपछि बैठक एकैपटक सोमबार बिहान ९ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार चैतेदसैं, रामनवमी र सार्वजनिक बिदा परेकाले बैठकलाई सोमबारदेखि निरन्तरता दिइने भएको हो ।
शनिबार ब्रेकअघि नरहरि आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी, कल्याण गुरुङ र हरि नेपालले धारणा राखेका थिए भने ब्रेकपछि जम्मा दुई जना वीरबहादुर बलायर र गुरुराज घिमिरेले बोलेपछि बैठक स्थगित भएको एक नेताले जानकारी दिए । बिहान ११ बजे बैठक बोलाइए पनि साढे १२ तीर सुरु गर्ने र २ बजेदेखि फेरि डेढ/दुई घण्टा ब्रेकपछि बैठक थाल्दा थोरैमात्र सदस्यले बोल्ने गरेका छन् ।
शुक्रबार ब्रेकपछि बोल्ने वक्ता नै नहुँदा बैठक स्थगित भएको थियो । उनीहरुले कांग्रेसलाई नयाँ ढंगले अघि बढाउन चुनावमा भएका कमी कमजोरीलाई हटाउँदै अघि बढ्नुपर्ने धारणा राखेका छन् । अधिकांश केन्द्रीय सदस्यहरुले तत्काल महासमिति बैठक बोलाउन माग गरेका छन् ।