रेशम चौधरीलाई थुन्नु गल्ती, तर सपथ ग्रहण नगराउनु झन ठूलो गल्ती : उपेन्द्र यादव
काठमाडौं : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले रेशम चौधरीलाई प्रक्रनु गलत र सपथ ग्रहण नगराउनु झन गलत रहेको बताएका छन् । आइतबार तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरुको प्रश्नमा यादवले आफू र आफ्नाे पार्टी पनि रेशम चौधरीलाई सांसदको सपथ ग्रहण गराउनुपर्ने पक्षमा रहेको प्रष्ट पारे ।
‘उहाँ (रेशम चौधरी)लाई सपथ ग्रहण नगराउनू भनेर कुनै पनि सक्षम न्यायलयले भनिनसकेको अवस्थामा सपथ ग्रहण नगराउनु झन ठूलो गल्ती हो,’ यादवले भने । यादवले राजनीतिक आन्दोलनका आधारमा चौधरीमाथि मुद्दा लगाउने हो भने प्रचण्डमाथि के मुद्दा लगाउने ? अहिलेको गृहमन्त्रीमाथि कुन मुद्दा लाग्न सक्दैन ? केपी ओलीमाथि कुन मुद्दा लाग्न सक्दैन ? भन्दै प्रश्न गरे । ‘आफ्नाे मुद्दा चाहिँ राजनीतिक भयो आन्दोलनकारीको मुद्दा चाहिँ अपराधिक भयो भन्ने व्याख्या गलत हो,’ यादवले भने ।