चुनढुंगा खानी बन्द गर्न स्थानीयवासीको दबाब
चितवन : जिल्लाको कालिका नगरपालिका–९ कोलारमा रहेको चुनढुंगा खानी बन्द गर्न स्थानीयवासीले दबाब दिएका छन् । खानेपानी, सिँचाइका स्रोत नष्ट हुने र ऐतिहासिक महत्व बोकेको उपरदाङगढी धरापमा पर्ने भन्दै उनीहरुले बन्द गर्न दबाब दिएका हुन् ।
कालिका नगरपालिका–९ का वडाध्यक्ष हिमबहादुर क्षेत्रीले चुनढुंगा खानीले समग्र क्षेत्रमा प्रभाव हुने भन्दै स्थानीयवासीले विरोध जनाएको बताउनुभयो । वडा भेलामा अधिकांशले खानी बन्द गर्न दबाब दिएका थिए । वडाध्यक्ष क्षेत्रीले स्थानीयवासीको भावना बुझेर सोको जानकारी नगरपालिकामा गराएको बताउनुभयो ।
वडा भेलाले खानी बन्द गर्ने निर्णय गरेको स्थानीय प्रकाश थापाले बताउनुभयो । नगरपालिकाद्वारा गठित खानी अनुगमन समितिका सदस्यसमेत रहनुभएका थापाले स्थानीयवासीको भावनाभन्दा बाहिर गएर नगरपालिका एवं अन्य निकायले निर्णय गर्न नहुने बताउनुभयो ।
खानीका कारण जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढी जोखिममा पर्ने, खानेपानी मुहान सुक्ने, सिँचाइको कुलो बन्द हुने, पहिरोका कारण स्थानीयवासीको जनधनको क्षति हुन सक्ने चिन्ता स्थानीयवासीको भएको थापाले बताउनुभयो ।
नगरपालिकाका प्रमुख खुमनारायण (गोपी) श्रेष्ठले खानी सञ्चालनको इजाजत दिने अधिकार खानी विभागको भएकाले आफूहरुले रोक्न भने नीतिगत रुपमा नसक्ने बताउनुभयो । उहाँले स्थानीयवासीको भावनालाई बुझेर अन्य स्रोत सम्पत्तिको क्षति नहुने गरी खानी सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
खानी सञ्चालन गरेको स्टारलाइन इण्डष्ट्रिज प्रालि काठमाडौँका प्रतिनिधि ईश्वरी मरासिनीले स्थानीयवासीलाई प्रभाव नपरोस् भन्नका लागि रु दुई करोड ५० लाख खर्च गरेर संरचनासमेत निर्माण गरिएको बताउनुभयो ।
पहिरोको जोखिम भएका ठाउँमा तारजाली लगाएर संरक्षण गरिएको उहाँले बताउनुभयो । स्थानीयवासीको अवरोधपछि दुई महिनादेखि खानी नियमित सञ्चालन हुन सकेको छैन ।