सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले दियो १ नम्बर जर्सी
काठमाडौँ : सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले १ नम्बरको जर्सी हस्तानतरण गरेको छ। दिल्ली डेयर डेभिल्सबाट पहिलो पटक आईपीएल खेल्ने तयारीमा रहेका सन्दीपलाई दिल्लीले बिहीबार काठमाडौँमा आई एक नम्बरको जर्सी हस्तान्तरण गरेको हो ।
सन्दीपलाई दिल्लीको तर्फबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले जर्सी हस्तान्तरण गरेका हुन् । सन्दीपलाई जर्सी हस्तान्तरण गर्न दिल्ली डेयर डेभिल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमन्त दुवा, म्यानेजर सुनिल भाल्सनलगायत बिहीबार नै नेपाल आइपुगेका थिए । दिल्लीले प्रधानमन्त्री केपी शर्मा ओलीबाटै सन्दीपलाई जर्सी हस्तान्तरण गर्ने कार्यक्रम तय गरे पनि कार्यव्यस्तताका कारण त्यो सम्भव भएन ।
प्रधानमन्त्रीले नभ्याउने भएपछि खेलकुदमन्त्री जगतबहादुर सुनारबाट जर्सी हस्तान्तरण गराउने प्रयास गरेको दिल्लीले त्यो पनि सम्भव नभए पनि राखेप सदस्यसचिव केशव विष्टलाई निम्त्याएको हो ।
राष्ट्रिय टोली तथा अन्य क्लबहरूबाट खेल्दा सन्दीपलाई २५ नम्बर जर्सीमा देखिने गर्दछ, तर आइपिएलमा भने उनले किन १ नम्बर रोजे भन्ने प्रश्नमा सन्दीपको प्रतिक्रिया यस्तो रह्यो, “मेरो भान्जीको जन्मदिन २५ गते पर्छ, तर उनी यस संसारमा छैनन्। उनैको सम्झनामा म २५ नम्बरको जर्सी लगाउँछु”, सन्दीपले भने।
तर दिल्लीमा भने कागिसो राबाडाले उक्त जर्सी लगाउने भएकाले सन्दीपले १ नम्बर जर्सी रोजेको जानकारी दिए, “दिल्लीमा सिनियर खेलाडी राबाडाले २५ नम्बर लगाउँछन्। मेरो भान्जीको जन्म पहिलो महिना भएकाले मैले १ नम्बर जर्सी लगाएको हुँ “, भावुक हुँदै सन्दीपले बताए ।