Logo
५ आश्विन २०८१, शनिबार
(March 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कांग्रेसका अधिकांस नेताहरूले नेतृत्वमाथी उठाए औंला

नुवाकोट : नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरूले पार्टी पराजय हुनुमा केन्द्रीय नेतृत्वको हस्तक्षेप र भागबन्डालाई मुख्य कारण ठानेका छन् । स्थानीय निर्वाचनदेखि प्रदेश र संघीय संसदका उम्मेदवार चयन गर्दा नेतृत्वले हस्तक्षेप गरेर भागबन्डा गरेकै कारण कांग्रेस निर्वाचनमा पराजित भएको उनीहरूको बुझाइ छ ।

वाम गठबन्धन, मधेसमा मधेस केन्द्रित दलको गठबन्धन, कांग्रेस नेतृत्वको सरकारबाट भएका अलोकप्रिय निर्णयलगायत कामले पनि निर्वाचनमा असर गरेको उनीहरूको भनाइ छ ।  पार्टीको कोषलाई सबल र पारदर्शी बनाउन यस्तो भेला गरिने परम्परा रहे पनि यसपटक राजनीतिक मुद्दामै कोषाध्यक्षहरू केन्द्रित छन् । बिहीबारको बन्दसत्रमा उनीहरूले पार्टीको कोषभन्दा कांग्रेसले निर्वाचन हार्नुको पीडालाई प्राथमिकतासाथ उठाएका थिए ।

महोत्तरीका कोषाध्यक्ष किशोरकुमार सिंहले अन्य ठाउ‘ंमा बाम गठबन्धनको प्रभाव भए पनि २ नम्बर प्रदेशमा मधेस केन्द्रित दलको गठबन्धनले असर पुर्‍याएको बताए । मधेस केन्द्रित दलले उठाएका मुद्दा सम्वोधनका लागि काग्रेसले अग्रसरता देखाउँदै आए पनि निर्वाचनका बेला गठबन्धन गर्न भने नेतृत्वकै कमीकमजोरीले हुन नसकेको उनीहरूको तर्क छ । मधेस केन्द्रित दलसँगको गठबन्धनमा निर्वाचनमा गएको भए कांग्रेसले १२ देखि १५ सिटसम्म जित्ने दावी प्रदेश नम्वर २ बाट प्रतिनिधित्व गर्ने कोषाध्यक्षहरु बताउँछन् ।

तर, नेतृत्वको गलत अडान र रणनीतिक कुशलता प्रदर्शन गर्न नसक्दा कांग्रेस मधेसमा समेत कमजोर हुन पुगेको उनीहरुको दाबी थियो । ‘अन्य ठाउं‘मा जस्तै मधेसमा पनि उम्मेदवार छनोट गलत भएको थियो । कतिपय पैसाको आधारमा उम्मेदवार बनाइयो, कतिपयलाई नातावाद, कृपावादको आधारमा बनाइयो’ सिंहले भने, ‘स्थानीय स्तरबाटै सिफारिस भएकालाई उम्मेदवार नबनाउँदासम्म पार्टीमा यस्तै समस्या आइरहन्छ ।’

बन्दसत्रमा अधिकांशले वडा तहसम्मको उम्मेदवारमा समेत केन्द्रबाट हस्तक्षेप भएको पीडा पोखेका थिए । ‘स्थानीय तहको निर्वाचनमा पनि वडा तहसम्मै हस्तक्षेप भएको छ । गुट/उपगुटको भागबन्डाको सिकारमा पार्टी परेको छ भन्ने ठम्याइ हाम्रो छ,’ कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमितिका अध्यक्ष उत्तम पुडासैनीले भने, ‘स्थानीय तहको सिफारिस लत्याएर केन्द्रले भागबन्डाका आधारमा उम्मेदवार बनाउँदा पार्टी पराजित हुन पुगेको हो ।’

प्रत्यक्षतर्फ उम्मेदवार चयन गर्दा संसदीय बोर्डमा छलफल र वादविवाद भए पनि समानुपातिक उम्मेदवार भने भागबन्डाका आधारमै तय भएको थियो । यद्यपि प्रत्यक्षतर्फको उम्मेदवारमा छलफल भए पनि संस्थापन, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता खुमबहादुर खडका पक्षबीच भागबन्डाकै आधारमा तय भएको हो । समानुपातिक उम्मेदवार छनोटमा संसदीय समितिमा नाम प्रस्तावसमेत नगरी भागबन्डाबाट टुंग्याइएको थियो । आ–आफ्ना समूहले भागबन्डाका आधारमा तय गरेका नाम गोप्य रूपमा निर्वाचन आयोगमा बुझाएका थिए । कोषाध्यक्षहरूले समानुपातिक उम्मेदवार छनोटको विधिसम्मत प्रक्रियाको मागसमेत राखेका छन् ।

निर्वाचन हार्नुको समिक्षाबाट आएका निष्कर्षलाई कोषाध्यक्षहरुले घोषणापत्र मार्फत नेतृत्व तहलाई गुट अन्त्यका लागि ज्ञापन बुझाउने भएका छन् । ‘दुईटै नेतालाई (देउवा र पौडेल) एउटै मञ्चमा राख्ने, एउटै टेबुलमा खाना खुवाएर गुटबन्दी अन्त्य गर्न दबाव सृजना गर्ने उद्देश्य नै हाम्रो थियो’ पुडासैनीले भने, ‘हामीले उद्धेश्य अनुरुपको काम पनि गर्छौ र पार्टीमा कुनै गुट/उपगुटमा लाग्दैनौं पनि ।’ कांग्रेस सांसद मोहन आचार्यको रसुवास्थित निवासमा बुधबार राती देउवा र पौडेलसहित सवै नेतालाई डिनरको व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति: Mar 22, 2018

प्रतिक्रिया दिनुहोस्